मन्त्री यादवकाे दाबी- काठमाडौं उपत्यकामा बाह्रै महिना पानी पुर्याउँछौं

मन्त्री यादवकाे दाबी- काठमाडौं उपत्यकामा बाह्रै महिना पानी पुर्याउँछौं

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री महिन्द्र राय यादवले काठमाडौं उपत्यकामा बाह्रै महिना पानी दिने दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा भएको खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा भएको छलफलमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘शिवपुरीको पानीलाई चाँडोभन्दा चाँडो काठमाडौंमा ल्याउँछौं । साढे ११ करोड लिटर पानी आउँदा असार, साउन र भदौ तीन महिना थेग्न सकिन्छ त्यसकारण काठमाडौंका जनतालाई १२ महिना नै पानी पुर्याउने सरकारको प्रतिबद्धता छ’ उनले भने, ‘यसमा विश्वास दिलाउन चाहन्छु ।’

सरसफाइको लागि नीति पास भएको उल्लेख गर्दै मन्त्री यादवले अब प्रक्रिया अगाडि बढिसकेको बताए । ‘यसपालि एक हजार आधुनिक शौचालय बनाउने कुरा बजेटमा थियो, हामीले पीपी मोडेलमा स्थानीय तहले जग्गा उपलब्ध गराइदिने र ५० प्रतिशत बजेट हाम्रो हुने भनेर सूचना प्रकाशन गर्यौं’ उनले भने, ‘सातै प्रदेशमा यो कार्यान्वयन हुन्छ । यो प्रक्रियामा अगाडि बढेका छौं । सबै स्थानीय तहमा सरसफाईको योजनाको प्रक्रिया अघि बढेको छ ।’

Logo