बाघ जस्तै गर्जने हक्की केशवकुमार बुढाथोकी राजादेखि जनतासम्म थिए प्रिय

बाघ जस्तै गर्जने हक्की केशवकुमार बुढाथोकी राजादेखि जनतासम्म थिए प्रिय

केन्द्रबिन्दु
210
Shares

नेपालका तीन ठूला परिवर्तनको आन्दोलनमा सक्रिय रहेका नेता केशवकुमार बुढाथोकीको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका झापा अर्जुनधारा निवासी बुढाथोकीको ८० वर्षको उमेरमा गएराती निधन भएको हो । उनी लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’बाट पीडित थिए । नेपाली कांग्रेस निकट विद्यार्थी संघबाट राजनीति सुरु गरेका हक्की स्वभावका बुढाथोकी राजाकालीन प्रधानपञ्चदेखि गणतन्त्रका मन्त्रीसम्म भए । सम्पन्न परिवारमा जन्मिएका उनी नेपाली राजनीतिक नेतृत्वदेखि राजपरिवारका सदस्यका पनि अभिभावक थिए । उनलाई स्वर्गीय राजा वीरेन्द्र शाहले भाइ धीरेन्द्र र ज्ञानेन्द्र शाहको अभिभावक मानेका थिए । राजकुमारहरुले उनलाई ‘क्षेत्री दाइ’ भनेर सम्बोधन गर्थे ।

आफ्नै दाजुविरुद्ध अनेक कुरा भन्दै जिस्काइरहने ज्ञानेन्द्रलाई पनि उनले कहिले हुत्याइदिने, कहिले चड्कन हान्थे । तर, उनलाई थाहा थिएन उनीहरु युवराज हुन् भनेर ।

को थिए त केशव बुढाथोकी ?
२००१ साल असोजको फूलपातीका दिनमा इलामको सिन्फिरिङमा जन्मेका बुढाथोकीको स्कुले शिक्षा दार्जिलिङबाट प्रारम्भ भएको थियो।दार्जिलिङको सेन्टजोसेफ पढ्दा नेपालका तत्कालीन युवराज वीरेन्द्र उनका सहपाठी थिए। युवराज वीरेन्द्र र राजकुमारहरू ज्ञानेन्द्र र धीरेन्द्र पनि त्यही स्कुलमा थिए। उनीहरु पछि रुममेट नै बने । त्यसबेला उनी युवराज वीरेन्द्रसँग खुब मिल्थे । आफ्नै दाजुविरुद्ध अनेक कुरा भन्दै जिस्काइरहने ज्ञानेन्द्रलाई पनि उनले कहिले हुत्याइदिने, कहिले चड्कन हान्थे । तर, उनलाई थाहा थिएन उनीहरु युवराज हुन् भनेर । ‘पछि बिदामा नेपाल आएका बेला बुबाले ती त राजाका छोरा हुन् भनेपछि म छक्कै परेँ’, बुढाथोकीले आफ्नो पुस्तकमा लेखेका छन्।

नेपाल र भुटानका राजपरिवारका सन्तानसँगै पढेर दार्जिलिङमै ‘सिनियर क्याब्रिज’ सकेका बुढाथोकी नेपाल पढ्न आएका थिए। तर त्रिचन्द्रको शिक्षक कुटेको घटनाले उनलाई जेलमा पु-याएको थियो। जेल पुग्नुको फाइदा उनी राजनीतिक कार्यकर्ता बनेका थिए।अनपेक्षित रुपमा राजनीतिमा होमिएका बुढाथोकीको राजनीतिक जीवन एकै बाटोमा कहिल्यै गुडेन। सुरुमा कांग्रेस भएका उनले २०२५ सालमा झापामा भएको विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । एउटा विद्यालयको जग्गाको झमेलाको निहुँमा उठेको आन्दोलन जिल्लाव्यापी बन्यो। माइपूर्वको आन्दोलनको अगुवाइ बुढाथोकीले गरेका थिए। त्यही निहुँमा उनी फेरि जेल परेका थिए।

कुनैबेला सिके प्रसाइँ हराउन राप्रपाबाट उठेका, गिरीराजकुमारी प्रसाइँ हराउन भूमिका खेलेको पनि खुला रुपमा स्वीकार गरेका बुढाथोकीलाई जीवनको उत्तरार्धमा भने राजनीतिमा ‘इगो’ ठीक नहुने लाग्न थालिसकेको थियो।

केही समयपछि जेलबाट छुटेका उनी कांग्रेसको तरुण दलमा आबद्ध भए। बिपी कोइरालालाई भेट्न भारतको वनारस गए। बिपीलाई भेटेकै निहुँमा उनी फेरि पक्राउ परेका थिए।त्यसपछि भने ०२८ सालतिर उनी पञ्चायत प्रवेश गरे।उनी २०३२ मा शनिश्चरे गाउँ पन्चायतको प्रधानपन्च बनेका थिए।उनी प्रधानपन्च भएकै बेला जनमत संग्रह घोषणा भयो। प्रधानपन्चबाट राजीनामा दिएर उनी बहुदलका पक्षमा उभिए।तर, २०३६ को जनमत संग्रहमा बहुदल पराजित भयो। फेरि पन्चायत पसेका थिए।राष्ट्रिय पन्चायतको सदस्य पनि भए ।

तत्कालीन राजा वीरेन्द्र शाह आफ्नो सहपाठी भएकोले पनि २०४४ मा उनी मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा जलस्रोत सहायक मन्त्री बनेका थिए । उनी जलस्रोत सहायक मन्त्री भएकै बेला २०४६ मा जनान्दोलन सुरु भयो। मधेसको जदकुवा भन्ने ठाउँमा प्रहरीको गोली लागेर ६ जना महिलाको मृत्यु भयो।उक्त घटनापछि उनी बर्खास्त भए ।

जनआन्दोलन सफल भयो। २०४७ को संविधान जारी भएपछि २०४८ मा पहिलो आम निर्वाचन हुने भयो। त्यो चुनावमा उनले झापा २ मा टिकट दाबी गरेका थिए। तर कांग्रेसका वरिष्ठ नेता सिके प्रसाइँको विकल्प नहुने भन्ने बुझेपछि उनी सूर्यबहादुर थापा नेतृत्वको राप्रपा प्रवेश गरे। चुनावमा उठे तर, पराजित भए ।

२०५१ मा राप्रपा छाडेर बुढाथोकी फेरि कांग्रेसमै फर्किए र मध्यावधि निर्वाचनमा एमालेका केपी ओलीविरुद्ध चुनाव लडे । झापा ६ मा ओलीले जिते, उनी हारे । २०५६ मा उनले टिकट पाएनन्। २०६४ मा झापाबाट चुनाव जित्ने एक्ला कांग्रेस नेता थिए उनी । झापाका चक्रप्रसाद बाँस्तोला, कृष्णप्रसाद सिटौला, नरेन्द्रविक्रम नेम्वाङ लगायतका नेताहरू सबैले माओवादी उम्मेदवारसँग पराजय व्यहोर्दा बुढाथोकी भने चुनाव जित्न सफल भएका थिए।

२०७३ मा प्रचण्डको मन्त्रिपरिषद्मा बुढाथोकी सामान्य प्रशासन मन्त्री बनेका थिए।कुनैबेला सिके प्रसाइँ हराउन राप्रपाबाट उठेका, गिरीराजकुमारी प्रसाइँ हराउन भूमिका खेलेको पनि खुला रुपमा स्वीकार गरेका बुढाथोकीलाई जीवनको उत्तरार्धमा भने राजनीतिमा ‘इगो’ ठीक नहुने लाग्न थालिसकेको थियो।उनले आफ्नो पुस्तकमा राजनीतिमा ‘इगो’ ठीक नभएको स्वीकार गर्दै त्यही इगोले राजनीतिक जीवनमा धक्का पुगेको उल्लेख पनि गरेका छन्। राजनीतिक जीवनमा धेरै उतारचढाव भोगेका बुढाथोकी अब सम्झनामा मात्र सीमित भएका छन् ।

Logo