गृहमन्त्रीलाई रघुजी पन्तकाे प्रश्नः माइतीघरको विकल्प खोई ?

गृहमन्त्रीलाई रघुजी पन्तकाे प्रश्नः माइतीघरको विकल्प खोई ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका सांसद रघुजी पन्तले सरकारले जनतालाई विरोध र प्रदर्शन गर्नका लागि ठाउँ दिनुपर्ने माग गरेका छन् । सरकारले माइतीघर मण्डलमा प्रदर्शनमा लगाएको रोकलाई लक्ष्य गर्दै उनले विकल्प माग गरेका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले नेपाल लोकतान्त्रिक मुलुक भएकाले सरकारले जनताको आवाज बोल्ने ठाउँको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘हामीले गृहमन्त्रीलाई सोध्नुपर्ने हुन्छ, किन उहाँहरुले जनताको आवाज बोल्ने ठाउँहरु खुम्च्याउँदै लग्नु भएको छ ? माइतीघर उपयुक्त ठाउँ भएन भने त्यसको विकल्पमा ठाउँ दिनुप-यो नि । आधारभूत कुराहरु जस्तै घाम र पानीबाट बच्न सक्ने व्यवस्थासहित सरकारले जनताले बोल्ने ठाउँ दिनुपर्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा डाकिएको संसदले अधिवेशनको दोस्रो बैठकमा आकर्षण गुमाएको पन्तको भनाइ छ ।

प्रतिपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भन्दै उनले उपस्थित नहुँदा प्रतिपक्षी दलका नेताहरु नबोलेको बताए । उनले भने, ‘संसदको नेता वास्तवमा प्रधानमन्त्री हो । किनभने उसले बहुमत कमाण्ड गरेको हुन्छ । स्वयम् प्रधानमन्त्रीसँग सरसल्लाह गरि डाकिएको अधिवेशनको दोस्रो दिनमै संसदले आफ्नो आकर्षण गुमाएको छ । किन गुमायो भन्दाखेरि सदनको नेता प्रधानमन्त्री नै उपस्थित हुनु भएन ।’

लोकतन्त्रमा संसदलाई प्रधानमन्त्रीले उपेक्षा गरेको यो ज्वलन्त उदाहरण भएको उनको भनाइ थियो ।

Logo