एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

केन्द्रबिन्दु
84
Shares

रौतहट। नेकपा (एमाले) रौतहटको अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम भएको छ। एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो।

अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ। यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए।

जिल्ला उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी कायम रहेको उनले बताए।

यस्तै सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी कायम रहेको छ। यसैगरी, उपसचिवमा अवधेशकुमार यादव, अशोक पहाडी, कमलेशकुमार मिश्रा, फैजल अहमद र सोविन्द्र चौधरी गरी पाँच जनाको उम्मेदवारी रहेको छ।

तीनदिन सर्वसम्मतको प्रयास गर्दा समेत सहमति हुन नसकेपछि आज बिहान ९ बजेदेखि २ बजेसम्म मतदान माध्यमबाट नेतृत्व चयन गर्ने तयारी भएको निर्वाचन अधिकृत कार्कीले बताए। यसअघि हिजो आइतबार नै निर्वाचन हुने भनिएपनि आइतबार सर्वसहमतकै प्रयास दिनभरि जारी रहेको थियो तर सहमत हुन नसकेपछि आज ९ बजेबाट २ बजेसम्म मतदान हुन लागेको बताइएको छ।

Logo