कांग्रेस महासमिति बैठकअघि प्रधानमन्त्रीको अडिट रिपोर्ट !

कांग्रेस महासमिति बैठकअघि प्रधानमन्त्रीको अडिट रिपोर्ट !

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । एकमात्र पुत्र जयबीर सिंह देउवाको विवाह सम्पन्न गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसै सप्ताहन्तमा पार्टीको महासमिति बैठक उद्घाटन गर्ने भएका छन् । पुत्र विवाहका लागि शुभलग्नको पूर्ण पालना भएपनि महासमिति बैठक विधानले तोकेको समयसीमा उल्लंघन गर्दै आयोजना हुन गैरहेको छ। सभापति देउवाको एक्लो चाहनाले मात्र महासमिति बैठक हुन सक्ने कुरै होइन, निकटस्थ परामर्शदाताहरुले चिसो मौसम छल्न दिएको सल्लाह अस्वीकार गर्न देउवालाई सजिलो पनि थिएन। तर विलम्व भएपनि ७ फागुनका दिन भने महासमिति बैठक उद्घाटन हुने कुरा अब निश्चित जस्तै भएको छ।

नेपाली कांग्रेसले यसै साताको अन्त्यमा आयोजना गर्ने महासमिति बैठक राष्ट्रिय राजनीतिमा पनि चासोको बिषय हुने छ। सत्ता गठबन्धनको भविष्यमाथि स्वयं प्रधानमन्त्रीले प्रश्न उठाईसकेका छन् भने कांग्रेससँगको सहयात्रालाई विश्राम दिने मनसाय उनले प्रकट पनि गरिसकेका छन्। यसकारण पनि महासमिति आकर्षणको बिषय हुने देखिएको छ।

माओवादी केन्द्रको बैठकमा सरकारको नेतृत्व गर्दाको अडिट रिपोर्ट प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको सहकार्य त्यति लाभदायक नभएको निष्कर्ष सुनाएका छन्।

विधान अनुसार महासमितिको बैठक आयोजना गर्न असमर्थ देखिएको नेपाली कांग्रेस यो महत्वपूर्ण भेलामा के कस्ता राजनीतिक बिषय माथि छलफल गर्दैछ भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन। महासमिति बैठकमा पार्टीका केही नेताले धर्म सम्बन्धी बिषय प्रवेश गराएर छलफल गराउने गृहकार्य पनि गरिरहेको देखिन्छ।

केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाईमा वैदिक सनातन हिन्दु धर्मको पक्षमा राजनीतिक अभियान नै छेडिएको छ। कुनैबेला राजकाजमा सक्रिय रहेका नेता लक्ष्मण प्रसाद घिमिरे र अर्का नेता लोकेश ढकाल पनि यस अभियानका सक्रिय अगुवा देखिएका छन्।

अब छोरा बुहारीलाई घरभान्साको साँचो बुझाएपछि देउवा दम्पत्ति राजनीतिमा अझ बढी सक्रिय हुने नै छन्।

यही बिषयलाई नेपाली कांग्रेस डडेलधुराका पूर्व सभापति कर्ण मल्लले गएको महासमितिमा लिखित रुपमै प्रस्ताव प्रस्तुत गरेका थिए। ठूलो संख्यामा महासमिति सदस्यहरुको हस्ताक्षर रहेको मल्लको प्रस्तावलाई औपचारिक रुपमै ग्रहण गरेर संस्थागत अभिलेखमा राखिएको थियो। अहिले भण्डारी नेतृत्वको समूहले यसलाई केही परिमार्जन गरेर निरन्तरता दिएको छ।

विधानअनुसार महासमिति बैठक प्रत्येक वर्ष आयोजना गर्नुपर्ने भएपनि सभापति शेरबहादुर देउवाले यसलाई विभिन्न कारण उभ्याएर पर सार्दै आएका थिए। गएको मंसिरमै हुनुपर्ने यो बैठक पनि चिसो मौसमले स्थगित भएको थियो। मंसिरको बैठक सरेपछि यही अवधिमा सभापति देउवा दम्पत्तिले आफ्ना पुत्र जयबीरसिंह देउवाको विवाह सम्पन्न गरेका छन्। अब छोरा बुहारीलाई घरभान्साको साँचो बुझाएपछि देउवा दम्पत्ति राजनीतिमा अझ बढी सक्रिय हुने नै छन्। छोराको विवाह देउवा परिवारको पारिवारीक बिषय भए पनि सैनिक मुख्यालयमा आयोजना हुने भोजमा देशका कुनै पनि क्षेत्र र निकायको सहभागिता असम्भव जस्तै मानिएको छ।

महासमिति बैठकका अरु एजेन्डालाई ओझेलमा पार्न पनि प्रधानमन्त्रीको अडिट रिपोर्ट रणनीतिक रुपमा नआएको होला भन्न सकिँदैन।

महासमिति बैठकको पूर्वसन्ध्यामा सभापति देउवालाई भने एउटा चिन्ताको बिषय आईपरेको छ। चिन्ताको बिषय अरु केही नभएर सत्ता गठबन्धनको भविष्य के हुने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले नै प्रश्न खडा गरिदिएपछि उत्पन्न भएको छ। माओवादी केन्द्रको बैठकमा सरकारको नेतृत्व गर्दाको अडिट रिपोर्ट प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको सहकार्य त्यति लाभदायक नभएको निष्कर्ष सुनाएका छन्। नेपाली कांग्रेसले यसबारे कुनै टिप्पणी गरिसकेको छैन। तर प्रधानमन्त्री दाहालको भनाईले सत्ता गठबन्धनको भविष्यमाथि बहस गर्न एउटा प्रश्न भने उठाईदिएको छ। सम्भवत महासमिति बैठकका अरु एजेन्डालाई ओझेलमा पार्न पनि प्रधानमन्त्रीको अडिट रिपोर्ट रणनीतिक रुपमा नआएको होला भन्न सकिँदैन। नेपाली कांग्रेसका शीर्ष नेतालाई चिर्कटो सहमतिमा हस्ताक्षर गराउँदा रोहबरमा बसेका दाहालले महासमिति बैठकमा घुमाउरो पाराले चासो राखे भने त्यसलाई अन्यथा मान्न पनि मिल्दैन।

नेपाली कांग्रेसले यही फागुन ७ गतेदेखि १० गतेसम्म बस्न गइरहेको महासमिति बैठक व्यवस्थापनको समीक्षा गरिरहेको छ। सहभागिता व्यवस्थित बनाउन प्रदेश समन्वय उपसमिति गठन गरेर जिम्मेवारी तोकिएको छ।

ललितपुरको गोदावरीमा हुने महासमिति बैठक व्यवस्थापन थप प्रभावकारी बनाउन बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा दश सदस्यीय उपसमिति गठन गरिएको छ। कोशी प्रदेशका सभापति उद्धव थापा, मधेशका सभापति कृष्णप्रसाद यादव, गण्डकीका सभापति शुक्रराज शर्मा, लुम्बिनीका सभापति अमरसिंह पुन, कर्णालीका सभापति ललितजंग शाही, सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, बागमतीका उपसभापति चन्द्र महर्जन, मधेशका उपसभापति चन्द्रशेखर कुमार यादव, बागमतीका सहमहामन्त्री हरिशरण श्रेष्ठ र बागमती प्रदेशका मुख्य सचिव राजु नेपाल बानियाँ नेतृत्वको मसमितिमा सदस्य छन्।

Logo