माओवादी केन्द्रको विधान अधिवेशनः २० मध्ये १३ समूहले पेस गरे सुझाव

माओवादी केन्द्रको विधान अधिवेशनः २० मध्ये १३ समूहले पेस गरे सुझाव

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । माओवादी केन्द्रको जारी विधान अधिवेशनअन्तर्गत २० मध्ये १३ समूहले सुझाव बुझाएका छन् । अब ७ समूहले बिहीबार सुझाव बुझाउने पार्टीले जनाएको छ ।

सुझाव पेस गर्ने क्रममा बुधबार कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, बेपत्ता र घाइते परिवारका तथा सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा पर्यवेक्षकका रुपमा राख्नुपर्ने बताए । पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने सुझाव उनले दिए ।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै संगठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे ।

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्नु नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभइ सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेस गरे ।

मंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बैठक बिहीबार विहान ११ बजे पुनः बस्ने जनाइएको छ ।

Logo