नयाँ दललाई अध्यक्ष ओलीकाे कटाक्ष- भोलि उठी कहाँ जाने थाहा छ ?

नयाँ दललाई अध्यक्ष ओलीकाे कटाक्ष- भोलि उठी कहाँ जाने थाहा छ ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलको सैद्धान्तिक धार प्रष्ट हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ दलहरुलाई कटाक्ष गर्न छाडेनन् ।

‘नयाँ नयाँ भन्ने छ । मैले नयाँका नेतालाई अस्ति नै भने ए बाबु तिमीहरूले पोहोरै खोल्या पार्टी पुरानो भइसक्यो त । एकपटक सांसद भइसकेपछि तिमीहरु पुरानो भइसक्यौ । तिमीहरूको पार्टीमा समस्या पैैदा हुने बेलै भएको छैन,’ उनले भने, ‘मान्छे नभएको बेलामा सडकमा जम्मा भए, उम्मेदवार थिएन, पार्टी संस्था संगठन केही थिएन । को उम्मेदवार हुन्छौ भन्दा हात उठायो एउटाले नाम के कुन क्षेत्रमा उ्ठने भनेर सोध्यो त्यही उम्मेदवार भयो । अर्को पटक भइसकेकाले छोड्न मान्दैन, भइरहेकाले छाड्न मान्दैन, नयाँले नयाँ छ तिमीहरुमध्ये कोही एक सांसद भएपछि सन्यास लिनेवाला छौ र ? त्यसपछि पाँच वर्षपछि तिमीहरु नयाँ छौ, हामी जस्तो अनुभवी चाहिन्छ भनिहाल्छौ नि ।’

अर्कालाई नारा दिए जसरी राजनीतिक दलको व्यवस्थापन सजिलो नभएको अध्यक्ष ओलीले बताए । दलहरुको सैद्धान्तिक धार प्रष्ट हुनुपर्नेमा उनको जोड थियो । ‘उनीहरूको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन । आकार कस्तो हुन्छ ? कस्तो फुल्छ ? कस्तो फल्छ ? यी अमिलो गुलियो टर्रो कस्तो फल्छन् कि केही पनि थाहा छैन । खुर्सानी जस्तो हुन् र पिरा फल्छन् कि थाहा छैन,’ उनले भने, ‘फल्छ कस्तो, रंग टुंगो छैन । कहाँ जाने ? समाजवाद कि पुँजीवादमा ? त्यो पनि टुंगो छैन । भोलि उठी कहाँ जाने थाहा छैन ।’

सम्बोधनका अधिकांश समय सत्तागठबन्धन, प्रधानमन्त्री र नयाँ दलको आलोचनामा खर्चिएका अध्यक्ष ओलीले आफ्नो दल एमाले भने सशक्त भएको बताएका थिए । जनस्तरमा प्रभाव बढाइरहेकाले विरोधीलाई जवाफ दिन सक्षम रहेको भनाइ राखेका थिए ।

Logo