गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपति पौडेलको आह्वान

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपति पौडेलको आह्वान

केन्द्रबिन्दु
56
Shares

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरेका छन् ।

पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तको शिक्षा आजको आवश्यकता हो भने ।

“हरेक व्यक्तिलाई व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो । मुलुकको सर्वाङ्गिण विकासका निम्ति अध्ययन–अध्यापन प्रणालीमा सुधार अपरिहार्य छ,” आधुनिक शिक्षाका माध्यमबाट राष्ट्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै उनले भने । सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उनले जोड दिए ।

“प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने । उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रमको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गरे । साथै उनले स्वदेशमा पौरख गर्न युवा पुस्तालाई अनुरोध गरे ।

Logo