कांग्रेस संघीयताको विकल्पमा जाँदैन -सहमहामन्त्री आङदेम्बे

कांग्रेस संघीयताको विकल्पमा जाँदैन -सहमहामन्त्री आङदेम्बे

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी सोमबारदेखि महासमिति बैठक गर्दैछ । ललितपुरको गोदावरीमा चार दिन चल्ने बैठकका लागि यतिबेला तयारी तीव्र भइरहेको पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताएका छन् ।

बिहीबार संक्षिप्त कुराकानी गर्दै आङदेम्बेले पार्टीको विधान संशोधनदेखि राष्ट्रियताको सवालमा पार्टीको अगामी कदम लगायत मुख्य एजेण्डा रहने बताए । उनले भने, ‘महासमितिको बैठकमा हामीसँग धेरै एजेण्डाहरु छन् । मुख्य कुरा त हाम्रो पार्टीको विधानमै पनि कतिपय कुराहरु मिलाउनुपर्ने आवाजहरु पार्टीभित्रैबाट उठ्न थालेका छन् । हामीले पार्टीको संरचना संघीयताअनुसार नै व्यवस्थित गरेका छौं । तर विधानतः व्यवहारिक व्यवस्थापन अझै हुन सकेको छैन । यो सबै कुराको निचोड हामी यही महासमिति बैठकबाट निकाल्छौं, जसलाई हामीले नीति अधिवेशन समेत भनेका छौं ।’

महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरुले आआफ्नो दस्तावेजहरु प्रस्तुत गर्ने बताउँदै उनले पार्टीले अघि सारेका एजेण्डाहरुमै गम्भीर छलफल हुने बताए ।
संघीयताको पुनःसंरचनाबारे कांग्रेसको दृष्टिकोण के छ भन्ने प्रश्नमा उनले स्थानीय, प्रदेश र संघीय संरचनाको डिजाइनर नै नेपाली कांग्रेस भएकाले यसको विक्mल्पमा जाने सम्भावना नरहेको बताए । यद्यपि संघीय संरचनाको व्यवस्थाको पाटोमा छलफल हुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘संघीयतासम्बन्धी पुनःविचार गर्ने सम्भावना अहिले छैन, किनभने तीन तहको परिकल्पना त हामीले गरेका छौं नि । तर यसको व्यवस्थापनको पाटोमा छलफल गर्न सक्छौं । संरचना परिवर्तनमा मसिनो गरेर छलफल हुन्छ । किनभने अहिले जे जति भइरहेको छ यो सबै दोष तीन तहका निकायहरुलाई लिएर पन्छिने कामहरु भइरहेका छन् ।’

संघीय संरचनाको विश्वसनीयताको विषयमा पार्टी महाधिवेशनमा मात्र नभइ अन्य पार्टीहरुसँग छलफल गर्नुपर्ने उनले उल्लेख गरे ।

गठबन्धनका सम्बन्धमा केही सहमति भएको बताउँदै उनले निश्चित समयसम्म पार्टी त्यसैअनुसार अगाडि बढ्ने बताए । उनले भने, ‘गठबन्धन भित्रका दलका शीर्ष नेताहरु बीचमा केही भद्र सहमतिहरु भएका छन् । त्यही भएर त्यो निश्चित समयसम्म हामी बसिकन गठबन्धनकै सहमतिअनुसार नयाँ ढंगबाट जान्छौं । हामी सानो हुनु अथवा सानो हुनुको नाताले वर्ष–वर्षमा मन्त्रिपरिषद् फेर्ने कसरतमा छैनौं ।’

नेपाली कांग्रेस सधैं स्थिर सरकारका माध्यमबाट समृद्धिको पक्षमा रहेको उनको भनाइ छ । पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै आङदेम्बेले पार्टीभित्रैबाट संविधानमा सम्पत्तिको रुपमा ग्रहण गरेका उपलब्धिमाथि प्रश्न उठाइरहेको भन्दै नीति अधिवेशनमा यस विषयमा स्पष्टता खोज्ने बताए ।

लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्म निरपेक्षका कुरा, संघीयताका विषयमा यस महासमिति बैठकमा गम्भीर रुपमा छलफल गर्नुपर्ने उनले बताए । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढंग सञ्चालन गर्न विभिन्न ९ वटा उपसमिति गठन गरेको छ ।

चार दिनसम्म चल्ने महासमितिलाई प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम गरिरहेको हो ।

कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

बैठकमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन् । भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत सहभागिता रहने जनाइएको छ । कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरेको छ ।

Logo