काँग्रेस महासमिति बैठकअघि सांसद शर्माले सुशासनमुखी पार्टी बनाउन औंल्याए यी १० आधार

काँग्रेस महासमिति बैठकअघि सांसद शर्माले सुशासनमुखी पार्टी बनाउन औंल्याए यी १० आधार

केन्द्रबिन्दु
182
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कांग्रेसका नेताहरु र कांग्रेस नेतृत्वको नैतिक धरातलमाथि प्रश्न उठाएका छन् ।

काँग्रेस महासमिति बैठकअघि शनिबार काठमाडौंमा पार्टी रुपान्तरणका लागि आफ्नो अवधारणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सांसद शर्माले भने, ‘हिजो कांग्रेसका नेताहरु र कांग्रेस नेतृत्वको सरकारसँग जुन नैतिक धरातल थियो, आज कांग्रेसका नेतृत्व र सरकारमा सहभागि नेताहरुसँग त्यो नैतिक धरातलको निरन्तरता छ कि छैन, आजको प्रश्न यो हो ।’

सो क्रममा उनले स्मरण पनि गराए, ‘२७ मे १९५९ मा वीपी कोइरालाको नेतृत्वमा निर्वाचित सरकार गठन भयो । २१ सदस्यीय मन्त्रीमण्डलमा रहेका ३ जना मन्त्री गणेशमान सिंह, प्रेमराज आङ्दाम्बे, शिवराज पन्तसहित वीपीका भाइ तत्कालीन प्रधानमन्त्रीका स्वकिय सचिव तारणी प्रसाद कोइरालाले भ्रष्टाचार गरेका छन् भनेर तत्कालिन राजा महेन्द्रले प्रश्न उठाए । वि.पि. कोइराल स्वयम्ले छानविन समिति गठन गरी छानविन गर्न राजा महेन्द्रलाई प्रस्ताव गरे । राजा महेन्द्रले आफ्ना विश्वासपात्र तत्कालीन उपत्यका प्रमुख विष्णुमणी आचार्यको नेतृत्वमा छानवीन आयोग बनाए । गणेशमान सिंह नेतृत्वको मन्त्रालयले राणा परिवारको एउटा जग्गा किनेको थियो । त्यो पैसा राणा परिवारको खातामा जम्मा गरेको पाइयो । राजा र वीपीलाई सँगै राखेर ब्रिफ गर्दा छानविन समितिले पैसा सम्बन्धित व्यक्तिको खातामा गएको भेटियो, गणेशमान सिंहले भ्रष्टाचार गरेको छैन भनेर राजा महेन्द्र र विपी कोइरालालाई सँगै राखेर छानविन समितिले भन्यो । यसको अर्थ, वीपी कोइराला स्वयं आफ्नो मन्त्रीमण्डलका सदस्य, पुराना मित्र, सहोदर भाईमाथि समेत प्रश्न उठ्दा क्लिन चिट लिनसक्ने हैसियत वीपीसँग थियो । तत्कालिन समयमा राजा नै रहेका बेला वीपी त्यो हैसियत राख्नुहुन्थ्यो । गणेशमान सिंह, किसुनजी समेतको, कांग्रेसले त्यस्तो गर्भ गर्नलायक नैतिक हैसियत राख्नुहुन्थ्यो । जनताको नजरमा अहिलेको कांग्रेसको नेतृत्वले त्यो नैतिक धरातलको निरन्तरतालाई कायम राखेको छ वा गुमाएको छ ?’

यस्तो छ सांसद शर्माले सुशासनमुखी पार्टी र सरकारका लागि औंल्याएका १० आधार-

  • नेपाली कांग्रेसले सुशासनलाई मन्त्र बनाउनुपर्छ । राज्य वा पार्टी सञ्चालनको मूल मान्यताका रुपमा पारदर्शीता, जवाफदेहिता र सहभागितालाई अपनाउनुपर्छ ।
  • तीन तहका सरकारमध्ये जनताको निकट रहने स्थानीय सरकारलाई जनसहभागितामा आधारित घरदैलो सेवकका रुपमा विकास गर्नुपर्छ ।
  • तल्लो तहको वडा सदस्य, अध्यक्षदेखि प्रदेश र संघ सरकारको उपल्लो तहसम्म पुगेकाहरुले पदमा रहँदा पार्टीलाई विर्सन मिल्दैन । पार्टीले जारी गरेको घोषणापत्र, जनतासँग विगतमा गरेको प्रतिवद्धतामा इमान्दार उत्रनुपर्छ । त्यसकालागि पार्टी र जनप्रतिनिधिबिच समन्वय, सल्लाह र संवादका लागि उपयुक्त प्लेटफर्म निर्माण गर्न जरुरी छ । साथै पार्टीको संयन्त्रले पार्टीका तर्फबाट बनेका जनप्रतिनिधिका कामकारवाहीको नियमन, मूल्यांकन गरि दिशानिर्देश गर्ने संयन्त्र बनाउनुपर्छ ।
  • हामीले जिम्मेवारी लिइरहेका स्थानमा सेवा प्रवाह चुस्त हुनुपर्छ । नागरिकले सहज ढँगले सेवा लिन पाउने गरि काम गर्नुपर्छ । त्यसका लागि डिजिटल गभर्नेन्स प्रणालीको विकास गर्नुपर्छ ।
  • हालसम्म सार्वजनिक पद धारण गरेका पार्टीका सबैको (वडा सदस्यदेखि पूर्व प्रधानमन्त्रीसम्मको) सम्पत्ति छानविन गर्नसक्ने संरचना पार्टीभित्र निर्माण गरिनु पर्छ ।
  • सम्पत्ति शुद्धिकरण,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) जस्ता राज्यका निकायहरुलाई स्वतन्त्र, निष्पक्ष र राजनीतिक दबाब, प्रभावभन्दा बाहिर राखिनुपर्छ । स्वतन्त्र प्रतिस्पर्धाबाट ती स्थानमा सदस्य र पदाधिकारी नियुक्त गरिनुपर्छ । त्यसका लागि लोकसेवा आयोगजस्तै स्वायत्त निकाय बनाउनुपर्छ । यस विषयमा पार्टीको नीति प्रष्ट हुनुपर्छ ।
  • ट्रेड युनियनिजम बन्द गरौं । दल, समुदायपिच्छेका ट्रेड युयिनहरु खारेज गरि एकल ट्रेड युनियन संस्थाको निर्माण गरिनुपर्छ ।
  • आजसम्मको आरक्षणसम्बन्धि व्यवस्था र अभ्यास, यसको प्रभाव र परिणामबारे गहन समिक्षा हुनुपर्छ । आर्थिक अवस्थामा आधारित वर्गिय सकारात्मक विभेदको नीति अवलम्बन गर्नुपर्छ ।
  • कानुन वा नियमावलीको छिद्र खोजेर गम्भीर घटनाका अपराधी, मानवताविरुद्ध जघन्य घटनाका दोषीलाई उन्मुक्ति दिनुहुँदैन । दण्डहिनताको अन्त्य गरिनुपर्छ ।
  • गरिबीको रेखामुनि रहेका जनताको वास्तविक तथ्यांक निकाली तिनलाई निशुल्क शिक्षा, स्वाथ्य, सिप, प्रविधि र रोजगारीको व्यवस्था राज्यले गर्नुपर्छ ।

Logo