पार्टी रुपान्तरणमा सांसद सुनिल शर्माको जोड, भन्छन्- ‘नत्र कांग्रेसलाई गाह्रो छ’

पार्टी रुपान्तरणमा सांसद सुनिल शर्माको जोड, भन्छन्- ‘नत्र कांग्रेसलाई गाह्रो छ’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य तथा महासमिति सदस्य सुनिलकुमार शर्माले पार्टीको रुपान्तरण र जनमुखी सरकार निर्माण गर्न स्पष्ट एजेण्डासहितको महासमितिको बैठकमा प्रस्ताव राख्ने बताएका छन् ।

कांग्रेस महासमिति बैठकका सन्दर्भमा पार्टीको रुपान्तरणका लागि अवधारणापत्र सार्वजनिकीकरणका लागि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको आधारभूत आवश्यकताका बारेमा महासमितिको बैठकमा छलफल हुनुपर्छ भन्ने आफ्नो प्रस्तावको मूल उद्देश्य रहेको बताएका हुन् ।

उनले भने, ‘मेरो प्रस्तावका मुख्य एजेण्डाहरु रुपान्तरित कांग्रेस निर्माणका मार्गचित्र, सुशासनमुखी पार्टी र सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्ध, रोजगारीका समस्या समाधान र उद्योग क्षेत्रको विकास, अप्राकृतिक गठबन्धनको अन्त्य र कांग्रेसको नेतृत्वमा जनतामुखी सरकार, कांग्रेसले लिनुपर्ने अर्थनीति, विदेश नीति, शिक्षा र स्वास्थ्य क्षेत्रको रुपान्तरण र विकास, कृषि पर्यटन र जलविद्युतको विकासमा प्राथमिकता, खनिज स्रोतको पहिचान र विकासमा जोड लगायत छन् ।’

यस्तै, कांग्रेसले आफ्नो नीतिमा प्रष्ट नराख्ने र सम्मिलित सरकारलाई सुशासन र जनमुखी नबनाउने हो भने आउने दिनहरु कठिन हुने उनले बताए । उनले भने, ‘कांग्रेस आफ्नो नीतिमा प्रष्ट हुनु जरुरी छ । नीतिमा प्रष्ट हुनुको साथै आफू सम्मिलित सरकारलाई सुशासन र जनमुखी बनाउनु पर्छ । यस्तो गर्न नसकेन कांग्रेसका लागि आउने दिनहरु कठिन छन् । लोकप्रियतावादी र अतिवादीहरु नेपाली कांग्रेसका मुख्य चुनौती हुन् । कांग्रेसले जनप्रिय, जनताको विश्वासको पार्टी बनाउने र आफू नेतृत्व जनमुखी सरकार बनाउने विषयमा ढिलाइ गर्नु हुँदैन ।’

Logo