समाजवादको लक्ष्य पूरा गर्ने दायित्व युवाको काँधमा छ: उपेन्द्र यादव

समाजवादको लक्ष्य पूरा गर्ने दायित्व युवाको काँधमा छ: उपेन्द्र यादव

केन्द्रबिन्दु
70
Shares

गोदार (धनुषा)। जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादले लिएको लक्ष्य पूरा गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन्।

शनिबार समाजवादी युवा सङ्घ केन्द्रीय समितिद्वारा आयोजित प्रशिक्षणमा उनले अहिलेका युवामा विचार र सिद्धान्तको कमी भएको समेत उल्लेख गरेका हुन्। पार्टी निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए।

प्रशिक्षणमा मधेस प्रेसका पूर्वआन्तरिक, सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले वौद्धिक प्रशिक्षणले मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने औँल्याए। उनले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरु बढको भन्दै युवालाई त्यसतर्फ सचेत रहन सुझाव दिए।“सङ्घीयतालाई समाप्त गर्न केही अनावश्यक तत्व सक्रिय भएका छन् । त्यसलाई वौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ”, उनले भने।

मधेस प्रदेश सरकारका उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन साह कलवारले युवाहरुमा अध्ययनमा रुचि घट्दै गएको प्रति चिन्ता व्यक्त गरे। उनले शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्च स्तरको बौद्धिकता पाउन सक्ने धारणा राखे ।

जसपा मधेस प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जीवनमा निखारता ल्याउन जरुरी रहेको बताए। पार्टीको विचार, नीति र सिद्धान्तबारे जानकारी पाएपछि समुदायमा अघि लिएर जान सहज हुने उनको भनाइ थियो । उनले युवाहरु अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पूरा गर्ने गरी काम गर्ने निर्देशन समेत दिए।

मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य बिक्की यादवले प्रशिक्षणबाट युवाले नयाँ जानकारी हासिल गर्ने बताए।
आजदेखि सुरु प्रशिक्षण फागुन ८ गतेसम्म चल्ने छ । प्रशिक्षणमा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा सङ्घका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित छ ।

Logo