संसदमा एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा

संसदमा एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा

केन्द्रबिन्दु
28
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ललितपुरको बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् । गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको हालै समितिले बुझाएकाे छानविन प्रतिवेदनको निष्कर्ष थियाे । त्यसपछि आजसम्म कारबाही नभएको भन्दै उनले विराेध जनाएका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो । उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत पुस १६ मा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ। आयोगले हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको संवेदनशीलताको खयाल नगरि मन्त्री पुग्नु कमजोरी रहेको जनाएको छ। मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ। घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ।

Logo