चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्तावले कांग्रेसमा तरंग, परिमार्जन गर्न देउवा पक्षको दबाब

चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्तावले कांग्रेसमा तरंग, परिमार्जन गर्न देउवा पक्षको दबाब

केन्द्रबिन्दु
126
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जन गर्न संस्थापन पक्षले दबाब दिएपछि कांग्रेसमा तरंग फैलिएको छ । महामन्त्री थापाले महासमितिमा प्रस्तुत गर्ने सांगठनिक दस्ताबेजमा पार्टीले अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । उक्त प्रस्तावले महासमिति बैठकमा ध्रुवीकरण बढाउने भन्दै संस्थापनले त्यसलाई रोक्न कसरत थालेको हो ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा पेश गर्ने सांगठिनक प्रस्ताव महामन्त्री थापाले तयार पारेका हुन्, जसमा कांग्रेसले भविश्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने उल्लेख छ । महासमितिमा पेश गर्नुअघि तीन वटै प्रतिवेदनमाथि बिहीबार र शुक्रबार केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो । बैठकले प्राप्त सुझावलाई समावेश गरी परिर्माजनसहित महासमितिमा प्रस्तुत गर्ने गरी सबै प्रतिवेदन पारित गरेको थियो । त्यसअनुसार प्रतिवेदनलाई अन्तिम रुप दिन शनिबार र आइतबार शीर्ष नेताहरुबीच छलफल भएको छ।

संस्थापन पक्षका नेताहरुले ‘प्रि–इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन्। तर महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार नभएपछि आइतबार बिहान सभापति देउवासहित छलफल भएको थियो । तर, सहमति जुटेन ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा कांग्रेसका सदस्यले अरु चिह्नमा मत हाल्न नपाएको मात्र होइन, अन्य दलको निर्वाचन चिह्न र झण्डा बोकेर मत माग्न हिँड्नुपर्ने बाध्यात्मक अवस्थाले असन्तुष्टि बढेको निष्कर्ष प्रस्तुत गरिएको छ । यसका लागि अब चुनावपूर्व गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने भन्दै प्रतिवेदनमा भनिएको छ। तर, संस्थापन पक्षका नेताहरुले परिमार्जन गर्न दबाब दिएका हुन् । चुनाव हुनु ४ वर्षअघि नै गठबन्धनको निर्णय लिनु नपर्ने उनीहरुकाे भनाई छ ।

महामन्त्री थापाले भने आफूले निर्वाचनमा हुने गठबन्धनका विषयमा मात्र विमति जनाएको बताएका छन् । निर्वाचनपछिको अवस्थामा गठबन्धन गर्ने विषयमा असहमति नराखेको उनले बताएका छन् । छलफलमा पनि उनले भन्दै आएका छन्, “हाम्रो निर्वाचन प्रणालीले सजिलै कुनै पनि दलको बहुमत पुग्ने अवस्था छैन । त्यसैले पोस्ट इलेक्सन एलाइन्स नकार्न सकिँदैन । तर, त्यसो भन्दैमा चुनावमा भोट नै अरूको दलको चुनाव चिह्नमा हाल्न लगाउने अभ्यासले कुनै पनि पार्टीको आधार बच्दैन । कांग्रेसका भोटरहरूलाई हामीले नै अन्य पार्टीका चिह्नमा भोट हाल्नुस् भन्दा हामीसँग रिसाएका छन् ।”

Logo