पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारको दोस्रो चरणको वार्ता सुरु

पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारको दोस्रो चरणको वार्ता सुरु

केन्द्रबिन्दु
28
Shares

विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी संगठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ । प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ २६ गते दुबै पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । त्यस क्रममा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले उपचार गरिदिने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

यसैगरी, प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमति पनि गरिएको थियो ।

वार्तामा सरकारी टोलीबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलगायत सहभागी छन् । कोशी सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक रहनेगरी वन वातावरण तथा पर्यटन गणेश उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो ।

मन्त्री खत्रीलाई वार्ता समिति सदस्यमा थप गरिएको हो ।

प्रदेशको नाम ‘कोशी’ राखिएसँगै पहिचान पक्षधर संगठनले असन्तुष्टि जनाउँदै आएको छ । पुनः नामकरण गरिनुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका थिए । आन्दोलनका क्रममा विराटनगरका पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो । त्यस क्रममा आन्दोलनकारीमध्ये एकजनाको मृत्यु भएको थियो । थुप्रै घाइते भएका थिए ।

Logo