एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ। नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। पूर्वप्रदेश सचिवालय सदस्य रहेका ढुंगाना आफ्ना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्।

ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन्। अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए। उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन्। उनीहरू तीनैजना प्यानलसहित उम्मेदवारी दिएका थिए।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले एक सय ८८ मत पाए। उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन्।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन्। चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्।

उपसचिव (खुला) मा ढुंगाना प्यानलका चूडामणि भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाए। उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।

फागुन ६ गते सुरु भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । सदस्यको मतगणना आज हुने निर्वाचन कमिटीले जनाएको छ।

Logo