उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावी सभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताएका छन् । उनले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको काम पूरा भएको बताए ।
सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताएका हुन् । कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उनले बताए । उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताए । शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । ‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उनले भने ।
उपप्रधानमन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताए । उनले भने, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’
मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताए ।
उपप्रधानमन्त्री खड्काले १०-१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटनमन्त्री सुदन किराती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया