नेविसंघमा विवाद बढ्यो, पूर्ण बैठकअघि अलग- अलग भेला

नेविसंघमा विवाद बढ्यो, पूर्ण बैठकअघि अलग- अलग भेला

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय समितिको बैठकलाई लिएर विवाद उत्पन्न भएको छ। केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका नेविसंघ नेताहरु बैठक बहिष्कार गर्नेसम्मको घोषणा गरेका छन्।

इतर समूह अन्तरर्गत डा.शेखर कोइराल र महामन्त्री गगन थापा पक्षका विद्यार्थीहरु प्रदर्शनीमार्गस्थित बाल्मीकि क्याम्पसमा अलग्गै भेला बोलाएका छन्। सभापति शेरबहादुर देउवा निकट र शेखर–गगन निकट विद्यार्थीहरु प्रष्ट रुपमा विभाजित भएका हुन्।

नेविसंघले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा केन्द्रीय समिति बैठकसमेत राखेको छ। बैठकको पूर्वसन्ध्यामा दुई पक्षबीच मतभेद बढेपछि पार्टी सभापति देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर विवाद मिलाएर मात्र बैठक संचालन गर्न निर्देशन दिएका छन्। जसका कारण महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने ऐतिहासिक भनिएको पूर्ण बैठक अन्यौलमा परेको छ।

अध्यक्ष शेर्पाले पार्टी कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेको इतर समूहका नेविसंघ केन्द्रीय सदस्यहरूको आरोप छ। जिल्ला अध्यक्ष मनोनीत गर्नुअघि कांग्रेस जिल्ला सभापतिसँग परामर्श गर्नुपर्ने भएपनि अध्यक्ष शेर्पाले नगरेको उनीहरुको आरोप छ। काठमाडौँ, धादिङ, दोलखा, मकवानपुर, बारा, नवलपरासी बर्दघाट सुस्तापश्चिम र सुनसरी जिल्ला अध्यक्ष तोक्दा सम्बन्धित जिल्लाका कांग्रेस सभापतिसँग नसोधिएको आरोप कोइराला पक्षका नेविसंघको छ।

केन्द्रीय सदस्य बिबस पौडेलले अध्यक्ष शेर्पाको कार्यशैली र मनोमानी आफूहरुलाई मान्य नभएको जानकारी दिए। त्यस्तै केन्द्रीय सदस्य सुशान्त आचार्यले अध्यक्षले अहिलेसम्म गरेको मनोनयन र आफूखुशी गरेका निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने बताए।

तर विरोधमा उत्रिका केन्द्रीय नेताहरु अनशनमा बसेकाहरुलाई पनि केन्द्रीय समितिमा मनोनयन गर्नुपर्ने पक्षमा छन्। अध्यक्षका कतिपय कार्यशैलीप्रति आफूहरु असन्तुष्ट रहेपनि संवाद, वार्ता र सहमतिमार्फत पूर्ण बैठकमार्फत संगठनलाई चलायमान बनाउनुपर्ने पक्षमा आफूहरु रहेको केन्द्रीय सदस्य संजिब ढकालले बताए।

तर अध्यक्ष शेर्पाले देखिएका विवाद समाधानका लागि आफू तत्पर रहेको प्रतिक्रिया दिएका छन्। ‘कहाँ कहाँ कमजोरी भएको हो वा साथीहरुको असहमति हो, ति सबै विषयमा बसेर छलफल गर्न सकिन्छ। बैठकमै सहभागी भएर सबै समस्या हल गर्न सकिन्छ,’अध्यक्ष शेर्पाले भनेका छन्।

सभापति देउवाले गत साउन २२ गते नेविसंघ तदर्थ समिति गठन गरेका थिए। तदर्थ समिति गठन भएको सात महिनासम्म एउटा पनि केन्द्रीय समिति बैठक बसेको छैन। अध्यक्ष शेर्पाले केन्द्रीय महाधिवेशनको मिति तोक्नेदेखि विभाग गठन गर्नेसम्मका कार्यतालिका बनाएर पूर्ण बैठक बोलाएका थिए।

Logo