संघीयता कार्यान्वयनका लागि कानून नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएः उपप्रधानमन्त्री खड्का

संघीयता कार्यान्वयनका लागि कानून नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
70
Shares

सुर्खेत। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून समयमै नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएको बताएका छन्।

संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानून नबन्दा संघीयतामाथि प्रश्न गर्नेहरुले मौका पाइरहेको बताउँदै उनले अब चाँडै आवश्यक कानून बनाएर संघीयता कार्यान्वयनमा लैजान सरकार क्रियाशिल रहेको उल्लेख गरेका हुन्।

‘संविधान जारी भएसँगै बन्नुपर्ने आवश्यक कानुनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहले आवश्यक अधिकार प्रयोग गर्न पाएका छैनन्। यहीँ कारण संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि प्रश्न गर्नेहरुले मौका पाइरहेका छन्’, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्सपोको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘चाँडै कानुन निर्माण गरेर संघीयता कार्यान्वयनका लागि वर्तमान सरकार क्रियाशिल भएर लागेको छ।’

उनले विगतमा दुई तिहाई मत प्राप्त सरकारले संघीयता कार्यान्वयनमा चुकेको भन्दै वर्तमाान सरकारलाई त्यो छुट नभएको बताए। ‘जनतालाई सेवा दिने र देशलाई समृद्ध बनाउने विषयमा राजनीतिक दलबीच मतभेद छैन्, सबैको लक्ष्य एउटै हो’, उनले भने।

उपप्रधानमन्त्री खड्काले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको बताउँदै चाँडै यसले पूर्णता पाउने समेत उल्लेख गरे। उनले निजामति सेवा ऐन संशोधनको प्रक्रियामा पनि रहेको साथै हिउँदे अधिवेशनमा संघीयतासँग जोडिएका अधिकांश कानुनहरु संसदमा दर्ता गर्ने गरेर सरकारले कानूनहरु निर्माण गरिरहेको बताए।

उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रमा सुधारका संकेतहरु आउन थालेको बताए। उनले कोरोना महामारी, रुस(युक्रेन युद्धका कारण देशका अर्थतन्त्रमा ठूलो प्रभाव परेको बताउँदै अहिले अर्थतन्त्रमा सुधार हुँदै गएको उल्लेख गरे।

‘अर्थतन्त्रमा परेका नकारात्मक असरहरुलाई सुधार गर्दै लगेका छौं, केही बाह्य सुचकांकमा सुधार आएको छ’, उनले भने, ‘अर्थतन्त्र विस्तारै लयमा आउँदैछ।’ उनले निजी क्षेत्रका सुझावका आधारमा मौद्रिक नीति सरकारले परिवर्तन गरेको बताउँदै सरकारले गरेका सुधारका प्रयासहरुको पनि कुरा उठाइदिन आग्रह गरे।

उपप्रधानमन्त्री खड्काले वन र भूमि ऐनका कारण विकास–निर्माणमा बाधा उत्पन्न भएको बताउँदै दुवै ऐन संशोधनको प्रक्रियामा रहेको बताए। ‘म आफैं सरकारमा छु, मदन भण्डारी राजमार्गमा पर्ने रुख कटानी र जग्गा प्राप्ति गर्न नौ महिना समय लाग्यो’, उनले भने, ‘वन र भूमि ऐनमा राखिएका झन्झटिला र अप्ठ्यारा प्रावधान हटाउने प्रक्रिया सरकारले अघि बढाएको छ।’

उनले बजेट बिनियोजन भए पनि रुख कटानी र भूमि प्राप्तिमा हुने समस्याका कारण कार्यान्वयन नहुने अवस्था विद्यमान रहेको बताउँदै यसले पनि अर्थतन्त्रमा असर पुगेको भनाइ राखे। ‘योजनाका लागि बजेट छुट्याइन्छ, वन र भूमिका कारण पुँजीगत खर्च नहुँदा बजारमा पैसा जान नसक्दा पनि अर्थतन्त्रमा असर पुगेको हो’, उनले भने।

Logo