मन्त्री किरातीलक्षित हर्क साम्पाङकाे टिप्पणी- ‘कुलको इज्जत राख्छ कि भनेको हुतिहारा परेछ !’

मन्त्री किरातीलक्षित हर्क साम्पाङकाे टिप्पणी- ‘कुलको इज्जत राख्छ कि भनेको हुतिहारा परेछ !’

केन्द्रबिन्दु
70
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा अहिलेको अवस्थामा विमानस्थल बनाउन नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । मन्त्री किरातीको निर्देशनअनुसार गठित अध्ययन समितिको प्रतिवेदनले अहिले सञ्चालनमा रहेको विमानस्थलसँगको भौतिक दूरीकै कारण यो सम्भव नरहेको निष्कर्ष निकालेपछि मेयर हर्क साम्पाङ मन्त्री किरातीविरुद्ध खनिएका हुन् ।

सामाजिक सञ्चालमा मन्त्री किरातीलाई लक्षित गर्दै उनको तारन्तार स्टाटस सार्वजनिक भइरहेको छ । समितिको निष्कर्ष सार्वजनिक भएको २४ घण्टा नपुग्दै उनले दर्जन बढी स्टाटस पोष्ट गरिसकेका छन् । मेयर साम्पाङले किराँतीलाई कुलले धिक्कार्नेसम्म भन्न भ्याएका छन् । उनले एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीको संज्ञा पनि दिएका छन् ।

उनले पछिल्लो स्टाटसमा भनेका छन्, ‘एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छ हौ ? भाषण मात्रै गर्दै बस्नु, उहिल्यै बर्गर खाको ढिंडो खाको, देश परिवर्तन गर्ने आँट हुनु पर्छ नि, खोइ त आँट ? छि…’ उनी यतिमा मात्रै रोकिँदैनन् मन्त्री किराँतीले राज्यको ढुकुटी सकेकोसम्म भनेका छन् । ‘केही गर्छ कि भनेको ताइँ न तुइँको गफ बाहेक अरू केही गरेन । मन्त्री भए पछि मन्त्री जस्तो काम गरे पो यस भन्नु, राज्यको ढुकुटीको सत्यानाश मात्रै ।’ उनले भनेका छन् ।

मेयर साम्पाङले नियमावलीलाई थुक्दै संविधान त परिवर्तन हुने नियमावली संशोधन नहुने भन्दै पनि टिप्पणी गरेका छन् । उनले नियमावली संशोधन गरेर भए पनि विमानस्थल बनाउने मन्त्री किरातीलाई चेतावनी दिएका छन् । उनले सामाजिक सञ्चालमा लेखेका छन्,‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ । ज्यादा नखोक् । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु । उनको स्टाटस हेर्दा लाग्छ, उनले आफू मेयर भएको समेत बिर्सिएर टिप्पणी गरिरहेका छन् ।

त्यसो त धरानमा विमानस्थल माग्दै मन्त्रालयमा आइपुगेका मेयर हर्क साम्पाङलाई उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उतिबेलै हवाई नीति र दूरीबारे सम्झाएका थिए । धरानमा विमानस्थल बन्न सक्दैन भनेपछि साम्पाङसँग मन्त्रालयमै उनको भनाभनको अवस्था देखिएको थियो । तर साम्पाङलाई नचिढ्याउन मन्त्री किरातीले अध्ययन समितिको एकसरो निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार गठित समितिले दिएको निर्देशनले पनि हवाई नीतिको व्यवस्था र विराटनगर–धरानबीचको दूरीबाहेक केही बोलेको छैन । समितिको निष्कर्षसँगै उक्त विमानस्थल सम्बन्धी परियोजना अगाडि बढाउने बाटो पनि बन्द भएको छ ।

Logo