प्रतिनिधिसभा बैठकः आरोप प्रत्यारोपमा अल्झिए सांसद

प्रतिनिधिसभा बैठकः आरोप प्रत्यारोपमा अल्झिए सांसद

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। कानून निर्माण गर्ने थलो संघीय संसदको प्रतिनिधिसभा बैठक जनताको अवश्यकता परिपूर्ति गर्ने र समस्या समाधानमा केन्द्रित रहने भन्दा धेरै पक्ष र प्रतिपक्षीको अडान र रोष पोख्ने स्थान बन्दै गइरहेको छ।

हिउँदे अधिवेशन सुरु भएपछि सदन चलेका दिन सरकारको काम कारबाहीलाई लिएर सडकदेखि उठेका जनताका प्रश्नमा सरकारको जवाफ माग्न निरन्तर सांसदहरुले खबरदारी गर्दै आइरहेका छन्।

तर, त्यो खबरदारी भन्दा अलि बढी पक्ष र प्रतिपक्षीबीचको रोष पोख्ने र आफ्ना अडान नछोड्ने प्रतिष्पर्धामा परिणत हुँदै गइरहेको देखिन्छ। एकातिर समसामयिक समस्याप्रति सदनमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरिरहने, अर्कातिर सरकार सुनेको नसुने झैँ गर्ने प्रवृतिले सदन एक अर्काबीचमा आरोप प्रत्यारोप लगाउने ठाउँ बन्न थालेको देखिन्छ।

जसको उदाहरण हो,हिउँदे अधिवेशन सुरु भएयता सभामुख देवराज घिमिरेले सदनमा उठाइएको प्रश्नको जवाफ दिन सरकारलाई आज समेत गरी पाँचौं पटक रुलिङ गर्ने अवस्था आउनु!

यति मात्रै होइन हिउँदे अधिवेशन सुरु भएपछि सदनमा निरन्तरजसो नै प्रतिपक्षीले सरकारको जवाफ माग्दै विरोध गर्छन्, सभामुख सदन सुचारु गर्न भएपनि सरकारका नाममा रुलिङ गर्छन्, चाहे विशेष समयमा बोलेका हुन् वा शून्य समयमा, सबैजसो सांसदले सदनमा उठाएको बिषय पनि उहि नै मिटरव्याजी, सहकारी, लघुवित्त पीडितका समस्या, दुग्ध किसानको भुक्तानीको बिषय, बालकुमारी घटनामा दोषी ठहरीएका मन्त्रीसहितलाई कारबाही गरिनुपर्ने लगायत दोहोरो तेहेरो होइन कतिपयले नौ, दश पटकसम्म पनि भनिरहन्छन्।

त्यतिमै सदन सीमित हुँदैन अझ रोचक कहाँनिर देखिन्छ भने व्यवस्थाको विरोधी र पक्षधर एक-आपसमा सदनमा बचाउ गर्न उत्रिन्छन्। शुक्रबार पनि त्यस्तै दृश्य देखियो। संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र मान्दिन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र व्यवस्थाको पक्षमा लडेको राजनीतिक दलमध्येको एक नेकपा माओवादीका सांसदबीचमा जुहारी नै चल्यो। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सदनभित्र व्यवस्था विरोधी आवाज दिनदिनै जसो आएको भन्दै संविधान मान्छु भन्नेले प्रणाली र व्यवस्था विरोधी भएर बोल्न नहुनेतर्फ जोड दिँदै सभामुखको ध्यानाकर्षण गराए।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी समानुपातिकता जस्ता कुरा हजारौंको बलिदान र रगत बगाएर ल्याएको भन्दै पौडेलले राप्रपालाई लक्षित गर्दै भने, ‘यो व्यवस्थालाई मान्छु ग्रहण गर्छु, भनेर हामीले संसदमा शपथ खाएर मात्रै सदनभित्र प्रवेश गरेका हुन्छौं। कहिलेकाँही मात्र होइन दिनदिनै जस्तो यो व्यवस्थाको विरोध गरेको हामी यहाँ सुन्छौं। शपथ खाएर यो संविधान मान्छु भनिसकेपछि पनि यो प्रणाली र व्यवस्थाको विरोध गर्न पाइन्छ र?’ पौडेलले प्रश्न गरे।

लगत्तै जसो बोलेका राप्रपा सांसद धवल शम्शेर राणाले पौडेललाई जवाफ फर्काउँदै देशको अवस्था देखेर जनता आक्रान्त बनेको उल्लेख गरे। उनले संविधान भित्रै बसेर राप्रपाले जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन आवश्यक रहेको र त्यसका लागि आन्दोलन सुरु गरिसकेको बताए।

‘भर्खरै एकजना सांसदले भन्नुभयो यो व्यवस्थाको हामीले विरोध गर्न मिल्छकि मिल्दैन भनेर। यो संविधानभित्र बसेर संविधानलाई नै परिवर्तन गर्न सक्ने व्यवस्था नै संविधानभित्र छ। देश चल्न सकिरहेको छैन, जनता आक्रान्त छन् । यो देशको अवस्था परिवर्तन गर्न हामीले व्यवस्था परिवर्तन गर्ने आन्दोलन राप्रपाले सडकमा छेडिसकेको छ,’सांसद राणाले भने।

एकातिर सदनमा समसामयीक विषयमा सरकार गम्भीर र जवाफदेही नबनेको स्वयं सत्तापक्षकै सांसदहरुले गुनासो गरिरहेका छन् भने अर्कातिर प्रतिपक्ष सदनको विशेष समय लिएरै सरकारका काम कारबाहीमा आलोचनात्मक टिप्पणीमा रमाइरहेको देखिन्छ।

यसरी मुख्य मुद्दामा सदन केन्द्रित हुने भन्दा पक्ष र प्रतिपक्षका आ–आफ्नै स्वार्थ जोडिएका बिषयमा सदनको समय व्यतित हुँदा कतै यो अधिवेशन पनि कानून निर्माणमा पहिलेको रेकर्ड दोहोर्याउनेतिर उद्यत त छैन भन्ने संशय पैदा भएको छ।

Logo