बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछः गृहमन्त्री श्रेष्ठ

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
14
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन्।

शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताएका हुन्।

बाँसबारी जुत्ता कारखानाले सरकारी जग्गा हडपेको प्रकरणमा व्यत्तिगत रुपमा कसैलाई केही नभन्ने उल्लेख गरेका उनले कारखानाले हडपेको उक्त जग्गा सरकारको नाममा ल्याउनेमा आफू विश्वस्त रहेको बताए।

‘बाँसबारीको जुत्ता कारखानाको प्रकरण हामीले कारबाहीको रुपमा प्रकृया अगाडि बढाएका छौं। र त्यो मालपोतद्वारा त्यो जग्गा राज्यकै नाममा आउने कुरामा म विश्वस्त छु’ गृहमन्त्री श्रेष्ठले भने।
आर्थिक,सामाजिकलगायत हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिरहेको उल्लेख गरेका उनले नेपालमा राम्रो काम गर्न कठिन भएको बताए। आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने वित्तिकै दबाब र धम्की आउने गुनासो गृहमन्त्रीले गरे।

उनले भने,‘हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिँदैछ। तर, यहाँ दुर्भाग्य छ,दुःख नमान्नुहोला राम्रो काम गर्न बडो कठिन छ। तर,पनि गर्नैपर्छ।’ नेपाल विकासका दृष्टिले अत्यन्तै राम्रो रहेको चर्चा गरेका उनले देशलाई कुनै हालतमा वृद्धाश्रम बन्न नदिने संकल्पको आवश्यकता रहेको चर्चा गरे। हरेक वर्ष युवा पलायनको बढ्दो ट्रेण्डलाई रोक्नुपर्नेमा जोड दिएका उनले देश बनाउने संकल्प गरेर सबै एकताबद्ध भए संमृद्धि सम्भव भएको बताए।

‘यो देशको मुहार फेर्नैपर्छ वृद्राश्रम र असफल राज्य बन्न दिनुहुँदैन। यो देश सुन्दर,स्वाधिन र लोकतान्त्रिक छ तर, देश संमृद्ध देश पनि बन्छ भन्ने संकल्प गरेर हामी अगाडि बढ्नुपर्छ। हामी एकताबद्ध भएर लागेपछि देशको संमृद्धि सम्भव छ,’गृहमन्त्री श्रेष्ठले भने।

Logo