कांग्रेस नेता श्याम घिमिरे भन्छन्- ‘संघीयताले प्रचण्ड प्रवृत्तिलाई मलजल गर्‍याे, अब सोच्नुपर्छ’

कांग्रेस नेता श्याम घिमिरे भन्छन्- ‘संघीयताले प्रचण्ड प्रवृत्तिलाई मलजल गर्‍याे, अब सोच्नुपर्छ’

'अहिले एमालेलाई न लाज भयो न सरम'

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद श्याम घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई मात्र नभइ नेपाली जनतालाई समेत धोका दिएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेससँग एक वर्ष सहकार्य गरेपछि एमालेसँग सत्ता समीकरण बनाएर दाहालले आफ्नो व्यक्तिगत स्वार्थका लागि नेपाली जनतालाई धोका दिएको सांसद घिमिरेले आरोप लगाएका हुन् । उनले भने, ‘दाहालले एमालेसहतिको गठबन्धनबाट प्रधानमन्त्री भएपछि कांग्रेसतिर आउनुको कारण के थियो ? चुनावको बेला जनतासामु गएर त प्रतिवद्धता जनाउनु भएकै हो नि १० वर्षसम्म यो गठबन्धन कायम गर्छौं भनेर । के कारणले वाचा तोडेर एमालेसँग मिल्न जानुभयो ? के कारण थियो पछि एमालेलाई छोडेर कांग्रेसतिर आउनुभयो ? अब के कारण छ कि कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्न जानुभयो ? प्रचण्डले नितान्त आफ्नो नीजि स्वार्थका निम्ति गठबन्धन फेरबदल गर्नुभएको हो । यो हामीलाई दिएको धोका नभइ आम जनतालाई धोका दिएको भनेर हामीले बुझेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले आफैंले म बाँचुञ्जेल देशमा उथलपुथल भइरहन्छ भन्नुको अर्थ राजनीतिक अस्थिरताको कारण मै हुँ भनेर पुष्टि गरेको बताउँदै सांसद घिमिरेले प्रचण्ड बाँचुञ्जेल देशमा स्थिरता र शान्ति कायम नहुने कुरामा सबै स्पष्ट भए हुनेभयो । नेपाली कांग्रेस र एमाले नेताहरुको सत्तालिप्साका कारण प्रचण्डलाई बोकिरहनु परेको घिमिरेको भनाई छ ।

सांसद घिमिरेले भने,‘एमाले र कांग्रेसका नेताहरुको सत्ता लिप्साका कारण प्रचण्डलाई बोकिरहनुपरेको छ । हिजो गठबन्धन गरेर चुनाव लड्नुलाई म गलत भन्दिनँ । एमालेसँग गैसकेपछि फर्काएर ल्याउनु नेपाली कांग्रेसको सत्तालिप्सा थियो । त्यही सत्तालिप्सामा एमाले कांग्रेसभन्दा बढि देखिएको छ । अहिले न एमालेलाई लाज भयो न सरम ।’

प्रचण्ड फेरि फर्किएर कांग्रेससँग आउने हो भने अँगालो हालेर स्वागत गर्न तयार हो त ? भन्ने प्रश्नमा उनले भने, ‘म यदि नेपाली कांग्रेसको सभापति हुन्थे भने अबको चार वर्षसम्म कसैसँग गठबन्धन गरेर सरकारमा जाने कुरा सोच्दा पनि सोच्दैन थिएँ । नेतृत्वमा अरु नेता छन् । उहाँहरुको विचार के छ थाहा भएन । तर कांग्रेसको नेता भएको नाताले यो मेरो नितान्त व्यक्तिगत विचार हो । अब हामीले दरो प्रतिपक्षी भूमिकामा बस्नुपर्छ । खरो प्रस्तुत हुनुपर्छ । संघीयताले प्रचण्ड प्रवृत्तिलाई मलजल गरेको छ । यसबारे सोच्नुपर्छ । समानूपातिक प्रणाली हटाउनुपर्छ । यो मुलुक एक मात्र हिन्दु धर्म अपनाएको मुलुक हो । यो पवित्रस्थल निर्माण गर्नुपर्छ । धार्मिक पर्यटनसँग जोड्नुपर्छ ।’

नेपाली कांग्रेलले संघीयता, समानुपातिक प्रणाली, धर्म र आर्थिक बिषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्ने उनको तर्क छ ।

अहिले आएर नेपाली कांग्रेस गठबन्धनबाट स्वतन्त्र भएको भन्दै उनले सभापति शेरबहादुर देउवा सात पटक प्रधानमन्त्री हुने लोभमा नलागेकोे उनको भनाई छ ।
नेता घिमिरेले भने, ‘सभापति देउवा सात पटक प्रधानमन्त्री हुने लोभमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । अहिले कसैैले पनि लोभ गर्नुपर्ने अवस्था छैन । लोभ नगर्न आग्रह गरेका छौं ।’

Logo