प्रचण्ड सरकारमा जाने नजाने टुंगो लगाउन नेकपा एस सचिवालय बैठक बस्दै

प्रचण्ड सरकारमा जाने नजाने टुंगो लगाउन नेकपा एस सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ बनेको सत्ता समिकरणमा सामेल हुने-नहुने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषय मुख्य गरी छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ ।

यसअघिको गठबन्धनमा सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमलेको तीव्र लबिङ गरिरहेका छन् । मंगलबार दुवै पार्टीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर गठबन्धन र सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिव्र असन्तुष्ट बनेका नेपालले २०७८ भदौमा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी दर्ता गरे । तत्कालिन गठबन्धन सरकारसँग मिलेर गत चुनाव लडेका नेपाल र ओलीबीच पानी बाराबारको स्थिति थियो । ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह मात्र गरेनन्  नयाँ सत्ता समिकरण बलियो बनाउन हेतु ओली विगतको तिक्तता भुलाएर मंगलबार साँझ दाहालसँग नेपाललाई फकाउन उनको निवास पुगे ।

मंगलबार साँझ भएको तीन शीर्ष नेताहरुको छलफलमा नेपाल सकारात्मक देखिएको बताइएपनि नेकपा एसले सो बारे आजको बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ ।

Logo