नारायणकाजी श्रेष्ठ भन्छन्- सुशासनका लागि विगतको समीकरण फलदायी भएन

नारायणकाजी श्रेष्ठ भन्छन्- सुशासनका लागि विगतको समीकरण फलदायी भएन

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए ।

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विगतको समीकरण फलदायी नभएको भन्दै नयाँ समीकरणबाट जनताको चहाना पूरा गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नयाँ समीकरणको औचित्य पुष्टि गर्नको लागि सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाइएको थियो । तीव्र र सकारात्मक हस्तक्षेपलाई गुणात्मक तहमा पु-याउन खोजिएको थियो, त्यो समीकरणबाट गर्न सकिएन । नयाँ समीकरणले त्यो कुरा पुष्टि गर्न सक्नुपर्ने चुनौति थपिएको छ । नेतृत्वले त्यो दिशातर्फ काम गर्न सक्नुपर्छ ।’

यसको साथै उनले राजनीतिको सफाई नेपालको अहिलेको देश फेर्ने अभियानको पूर्वसर्त भएको भन्दै त्यसको सुरुवात हामीले नै गर्नपर्ने बताए ।

जनतामा निराशाको वातावरण भइरहेको र समाजमा अराजकता फैलिएको भन्दै यसलाई रोक्नको लागि सुशासन नै पहिलो सर्त बनेको पनि उनको भनाई छ । श्रेष्ठ अब परराष्ट्रमन्त्री बन्ने चर्चा छ । पाँचौँपटक मन्त्री बन्न लागेका श्रेष्ठ दोस्रोपटक परराष्ट्रमन्त्री बन्न लागेका हुन् । यद्यपी, जिम्मेवारी हेरफेर हुनसक्ने संभावना पनि उत्तिकै छ ।

यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री थिए ।

Logo