सुवास नेम्वाङको बिँडाे थाम्लान् त सुहाङले ? इलाम -२ मा बढाए चहलपहल

सुवास नेम्वाङको बिँडाे थाम्लान् त सुहाङले ? इलाम -२ मा बढाए चहलपहल

केन्द्रबिन्दु
112
Shares

उपनिर्वाचन नजिकिएसँगै इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी चहलपहल बढेको छ । नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष तथा संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ देखि इलाम २ रिक्त छ। उक्त क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको मिति तोकिएसँगै नेम्वाङका छोरा सुहाङ नेम्वाङ एमालेबाट इलाम क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । एमालेले सुहाङलाई उम्मेदवार बनाउने अनुमान धेरैको छ । यो अनुमानलाई सहयोग पुग्ने गरी पछिल्लोसमय सुहाङ इलाममा सक्रिय छन् ।

इलाममा ढुक्क गरी बसेर सुहाङले भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् । पछिल्लो एक सातायता पेशाले अधिवक्ता सुहाङ दर्जनौं भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । औपचारिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेका छन् । कान्तिपुर ल एशोशिएट्स सञ्चालन गरेर वकालत गदै आएका सुहाङ अड्डा जमाएर इलाम बस्नुले पनि उनीले टिकट पाउने अनुमान धेरैले गरेका छन् । यद्यपि आफ्नो भेटघाट र कार्यक्रम चुनाव केन्द्रित भने नभएको उनको दाबी छ ।

सुहाङ सामाजिक, खेलकुद र सांस्कृतिक कार्यक्रम मात्रै होइन राजनीतिक गतिबिधिहरुमा सक्रिय रुपमा सहभागी छन् । गत २१ फागुनमा इलामदेखि झापाको सुखानी पुगेका थिए । सुखानी स्मृति दिवसको दिन उनले इलामबाट झापा पुगेर नै सहिदहरुप्रति सम्मान प्रकट गरेको थिए ।

सुहाङले इलाममा हुने सबैजसो कार्यक्रम, प्रतियोगिता र सार्वजनिक बिषयमा निरन्तर बोल्न र लेख्न थालेका छन् । ती सम्बोधनहरुमा बुवा सुवास, गृह जिल्ला इलाम, युवा पुस्ता र राष्ट्रिय राजनीतिलाई जोड दिने गरेका छन् । यी सबै गतिबिधि हेरेर इलामका स्थानीयबासीहरुले सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु गरेका हुन् ।

सुहाङले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस अगाडि उभिएको तस्बिर हाल्दै इलाममा सक्रिय रहने संकेत गरेका छन् । त्यसो त सुहाङ यसअघि देखि नै इलाममा सक्रिय थिए । खेलकुद लगायतका सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागी थिए । बुवा जस्तै भाका र भाषा मिलाएर बोल्ने सुहाङले विनम्र, सरल र बौद्धिक छवि बनाएका छन् । यसअघि कुनै पदमा बसेर राजनीतिमा सक्रिय नभए पनि उनीले बुवालाई साथी र सहयोगीमा रुपमा सहयोग गर्दै आएका थिए । २ असोज २०८० मा इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली सभामा सम्बोधन गरेयता नै सुहाङलाई राजनीतिमा ल्याउनु पर्छ भनेर युवाहरुले इलाममा अभियान चलाएका थिए । परिवारका तर्फबाट बोलेका सुहाङको बोलीमा सुवास नेम्वाङको शैली भेटिएको चर्चा भएको थियो ।

गत प्रतिनिधि सभाको निर्वाचनमा इलामका पाखा–पखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित छन्।

यता उपनिर्वाचनका लागि एमालेले पनि चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ। उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ। इलाम २ मा नेम्वाङका छोरा सुहाङसहित नेम्वाङको स्वकीय सचिवको भूमिकामा रही दुई दशक काम गरेका बुद्धीप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवं विश्लेषक डा. देवी क्षेत्री दुलाललगायत उम्मेदवारका आकांक्षी छन्।

Logo