चेक लिस्टसहित आएका छाैं, कम्प्रोमाइज हुन्नः गृहमन्त्री रवि लामिछाने

चेक लिस्टसहित आएका छाैं, कम्प्रोमाइज हुन्नः गृहमन्त्री रवि लामिछाने

केन्द्रबिन्दु
126
Shares

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु केही समय होमवर्कमा रहने बताएका छन् ।

चार सय पाँच दिनपछि उपप्रधान तथा गृहमन्त्रीका रूपमा पुनरागमन भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका लामिछानेले शुक्रबार शिवरात्री र नारी दिवसको शुभकामना दिँदै आफूहरु चेक लिस्टसहित आएको र कम्प्रोमाइज नहुने बताएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘”चेक लिस्ट” सहित आएका छौ । “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौ। जय शम्भो.. जय नेपाली सेना …जय नारी.. शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।’

लामिछानेको नेतृत्वमा रास्वपा गृहसहित शिक्षा, श्रम तथा खेलकुद गरी ४ मन्त्रालय लिएर अहिले सरकारमा छ । श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी), शिक्षामन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ रहेका छन् ।

गत वर्ष १० पुसमा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि उनका सबै सार्वजनिक पद खारेज भएका थिए । तर, योपटक उनी उपनिर्वाचन लडेर आएका हुन् । यद्यपि उनका लागि अघिल्लो पटकभन्दा यसपटकको कार्यकाल बढ्ता चुनौतीपूर्ण छ। अघिल्लोपटक अनुभवको कमी थियो भने यसपटक सुशासनको परीक्षा पनि उनकै भागमा परेको छ। पार्टी स्थापना गरेदेखि नै उनले भ्रष्टाचारको फाइल खोल्ने बताउँदै आएका छन्।

तर, लामिछाने यस्तो बेलामा गृह मन्त्रालयमा फर्किएका छन्, जतिबेला सहकारीका वचतकर्ताको रकम हिनामिनामा उनी समेत मुछिएका छन् । उनले राजनीति सुरु गर्नुअघि प्रबन्ध निर्देशकको रुपमा काम गरेका ग्यालेक्सी टिभीका अध्यक्ष जीबी राईलाई अहिले प्रहरीले खोजी गरिरहेको छ । उनीविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड रुपैयाँ बढी रकम ठगी गरेको आरोप छ । सहकारीका पदाधिकारी तथा पूर्वसञ्चालकविरुद्ध १ हजार ३६ जनाले जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका छन् । यसको फाइल खोल्नुपर्ने दायित्व पनि उनकै काँधमा आइपुगेको छ।

Logo