इलाम २ उपनिर्वाचनः अन्य दलहरु ताते, कांग्रेस सुस्त

इलाम २ उपनिर्वाचनः अन्य दलहरु ताते, कांग्रेस सुस्त

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। राजनीतिक दलहरुले आउँदो बैशाख १५ गतेका लागि निर्धारण भएको इलाम २ को उपनिर्वाचन केन्द्रित गतिविधिलाई तिब्रता दिएका छन्। नयाँ सत्ता समीकरणपछि नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाइसकेको छ।

एमालेले बनाएको उम्मेदवार छनोट समितिले आकांक्षीलाई आइतबार साँझसम्मको समयसीमा दिएअनुसार ६ जनाले निवेदन दिइसकेका छन्। निवेदन दिनेहरुमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङसहित रिपल राई, डा.देवी क्षेत्री दुलाल, रविन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई र बुद्धिप्रसाद खनाल रहेका छन्।

गत भदौ २६ गते संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।अब उम्मेदवार छनोट समितिले बैठक बसेर सर्वसम्मत उम्मेदवार बनाउने तयारी गरिरहेको छ। सहमति नजुटे चैत ३ गते जिल्लाको सचिवालयको बैठकमा पेस गर्ने र ५ गतेसम्ममा केन्द्रीय समितिमा पठाइसक्ने तयारी गरेको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अघि बढाउने तयारी गरिरहेको छ। हाल नयाँ सत्ता गठबन्धन बनेपछि खनाल स्वयम उत्साहित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम २ मा आफ्नो छुट्टै उम्मेदवार तय गर्ने निर्णय गरिसकेको छ।

रास्वपाले इलाम २ मा पर्ने हरेक पालिकाको सूक्ष्य अध्ययन गर्नका लागि नेताहरुलाई खटाइसकेको छ। पहिचानवादीहरुका तर्फबाट पनि उम्मेदवारको लगभगभ छिनोफानो भइसकेको छ। डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउनेगरी सहमति भएको छ। थेगिम प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक समेत हुन्।

थेगिमलाई किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा र नेपाल शेर्पा संघलगायतका विभिन्न समूहले सघाउने प्रतिवद्धता जनाएका छन्। सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको छ।

तर इलाम २ मा बलियो पकड जमाउँदै आएको नेपाली कांग्रेस भने उपनिर्वाचनका सवालमा सुस्त देखिएको छ। कांग्रेसबाट आकांक्षीहरुको दौडधुप बढिरहेका बेला केन्द्रीय समितिले उपनिर्वाचनका बारेमा आधिकारिक निर्णय गर्न सकेको छैन।

केन्द्रले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङदम्बेलाई इलामको अवस्था बुझ्न भनेपनि दुवैजना अष्ट्रेलिया उड्ने तयारीमा छन्। १६ मार्चमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शर्मा र आङदम्बे त्यता जाँदैछन्।

कांग्रेसले टिकट छान्ने प्रक्रिया नै सुरु गरेकै छैन। तल्लो तहदेखि हुने विभिन्न प्रक्रियाहरुलाई कांग्रेसले कुनै कसरत नै गरेको छैन। कांग्रेस जिल्ला सभापति डम्बर खड्का उपनिर्वाचनका लागि जिल्ला तहमा हुने सबै प्रक्रिया अघि बढीसकेको दाबी गर्छन्।

‘जिल्लामा हामी सबै हिसाबले तयारीमा छौं। केन्द्रले दिएको निर्देशनअनुसार काम गर्न तयार भएर बसेका छौं,’उनले भने। तर उम्मेदवार चयनका लागि संसदीय बोर्डले सिफारिस गर्ने र त्यसपछि केन्द्रले क्षेत्रलाई चिठी पठाउनेलगायतका न्यूनतम प्रक्रिया अघि बढाइएको छैन। क्षेत्रले वडालाई सिफारिसका लागि पठाउने काम समेत भएको छैन।

इलाम २ को निर्वाचनका लागि केन्द्रबाटै पदाधिकारीसहितका नेताहरु वडातहमा गएर बुझ्ने वा स्थानीय तहको अवस्थाको अध्ययन गर्ने भनिएको छ। उक्त काममा पनि सुस्तता छ। इलामका कांग्रेस नेता विष्णु कार्की भन्छन्,‘जिल्ला समितिले उपनिर्वाचन केन्द्रित कुनै निर्णय गरेको मलाई थाहा छैन। यतिबेला गाउँ, टोल वा वडासम्मका कार्यक्रमहरु तय भइसक्नुपर्ने हो त्यो भएको छैन। उम्मेदवारका आकांक्षीहरु काठमाडौं केन्द्रित दौडधुपमा हुनुहुन्छ। मतदाताको मनोभावना बुझ्न कसैलाई हतारो छैन,’ उनले अगाडि भने,‘यस्तो सुस्तता र ढिलासुस्तीले कांग्रेस कमजोर हुन्छ।’

गत फागुन २१ गते अचानक सत्ता गठबन्धनको समीकरण भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेसले उपनिर्वाचनका सवालमा कुनै निर्णय वा सर्कुलर गर्न सकिरहेको छैन। जसका कारण नेताहरु वडातहका कार्यक्रममा जान सकिरहेका छैनन्। कांग्रेसका आकाक्षीहरुलाई विधि र प्रक्रिया अनुसार उम्मेदवारको टुंगो लाग्छ कि सोझै केन्द्रले कसैलाई पत्र थमाएर पठाउँछ भन्नेमा दोधारमा छन्।

कांग्रेसमा २०७९ को निर्वाचनमा सुवास नेम्बाङसँग पराजित भएका कांग्रेस इलामका सभापति डम्बर खड्कासँगै स्थानीय राजनीतिमा पकड जमाएका पाका नेता एवं महासमिति सदस्य भेषराज आचार्य, पूर्वजिल्ला सभापति केशव थापा, संविधानसभाका सदस्य नरेन्द्र कुमाल र रमेश लिङ्देन आकांक्षी छन्। उनीहरु पनि केन्द्र र जिल्लाको कुनै परिपत्र वा सर्कुलर आइनसकेको भन्दै चुनावी अभियानमा जुट्न सकिरहेका छैनन्।

Logo