अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँः डा महत

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँः डा महत

केन्द्रबिन्दु
70
Shares

पाटन (ललितपुर) । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् ।

आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा महतले अर्थतन्त्रका सूचकहरु नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पारे ।

“मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियोे, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ”, उनले भने, “अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।”

डा. महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए । “कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ”, उनले भने, “अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।” उनले गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि बताएका थिए ।

डा. महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गर्दै राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताए । उनले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको उल्लेख गरे ।

उनले आगामी वैशाखमा हुने लागानी सम्मेलनमा धेरै लागानीकर्ता लगानी गर्न तयार रहेको बताउँदै उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको दाबी गरे ।

पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, रु तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेका थियौँ भन्दै डा महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको उल्लेख गरे ।

Logo