रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने कूटनीतिक प्रयास उच्च प्राथमिकतामा छः परराष्ट्र मन्त्रालय

रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने कूटनीतिक प्रयास उच्च प्राथमिकतामा छः परराष्ट्र मन्त्रालय

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कूटनीतिक प्रयास गरिरहेको जनाएको छ। नयाँ गठबन्धन सरकारका तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेपछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले उच्च प्राथमिकतामा राखेर कूटनीतिक प्रयास गरिरहेको जनाएको हाे।

विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनीरुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस-युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउन उनका आफन्त र परिवारजनले माग गरिरहेका छन्। सरकारले विभिन्न चरणमा त्यसका लागि पहल गरेपनि सफल हुन सकेको छैन।

मन्त्रालयका अनुसार रुसी सेनामा थप ७ जनाको मृत्यु भएको छ। योसँगै रुसी सेनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। परराष्ट्रका अनुसार पछिल्लो पटक धादिङका पूर्ण बहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको रुस-युक्रेन युद्धमा मृत्यु भएको छ।

‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रले भनेको छ।
नेपालबाट रुसी सेनामा जान सरकारको अनुमति छैन। पछिल्लो समय अन्य विभिन्न उद्देश्यले जानेहरुलाई समेत सरकारले नो अब्जेक्सन लेटर लिएर मात्रै जान भनेको छ।

Logo