व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधैं खुल्ला छः मन्त्री गिरी

व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधैं खुल्ला छः मन्त्री गिरी

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदी तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधैं खुल्ला रहने बताएका छन्।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताएका हुन्।

‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने,‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको गुनासो सुन्ने राज्यको संयन्त्रमा छु, गुनासो सुन्न मन्त्रालयका ढोका सधैं खुल्ला रहनेछ।’

उनले राज्यको कमजोर नीतिका कारण व्यवसायीहरु मारमा परेको उल्लेख गरे। ‘जनताहरुमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गर्छाैँ’, उनले भने, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरुम मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं।’

उनले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पुर्याएको बताउदै आफ्नो कार्यकालमा समस्याहरु सक्दो सुल्झाउने प्रतिवद्धता जनाए।

यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताए।

सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राखे।‘व्यावसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ, उनले भने,‘ग्राहकहरु पुरानो सुन लिएर बेच्न आउनुहुन्छ। उहाँहरुसँग पुरानो बिल बिजक हुँदैन। र व्यवसायीहरुले उहाँहरुको समस्या बुझेर खरिद गर्नुहुन्छ। त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ। त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ।’

उनले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गरे।‘ सुन भित्र्याउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ, उनले भने,‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ।’

Logo