कांग्रेस अब संसदमा बलियो प्रतिपक्षको भूमिकामा रहने छः गगन थापा

कांग्रेस अब संसदमा बलियो प्रतिपक्षको भूमिकामा रहने छः गगन थापा

केन्द्रबिन्दु
154
Shares

पोखरा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस अब संसदमा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरेका हुन्।’जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसदमा खेल्छ’, नेता थापाले भने।

सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्ने पार्टीका रूपमा विकास गर्न सक्ने उनको भनाइ थियो।

‘गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा भएको महसुस भइरहेकै बेला नेकपा माओवादी केन्द्रले विभिन्न बहानामा गठबन्धन तोड्दा कांग्रेसलाई सङ्गठन विस्तार गर्ने मौका मिलेको छ, अब कांग्रेसभित्रको गुटउपगुट समाप्त पारेर कांग्रेस अगाडि बढ्छ’, महामन्त्री थापाले भने। नेपाली कांग्रेस अब २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि उनको भनाइ थियो।

सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्ने बताउँदै नेता थापाले अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गरे।

सुशासनको पक्षमा काम गर्न जनप्रतिनिधिलाई सुझाव

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित गण्डकी प्रदेश स्थानीय तहका जनप्रतिनिधिलाई जनताको हित र सुशासनको पक्षमा काम गर्न सुझाव दिइएको छ।

कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा अन्तरक्रियामा प्रशिक्षण दिँदै गण्डकी प्रदेश योजना आयोग पूर्वउपाध्यक्ष डा .रघुराज काफ्लेले नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै जिम्मेवाररूपमा पक्षमा काम गर्न सुझाव दिए।

‘स्थानीय तहका जनप्रतिनिधिले जनतामा निराशा होइन, आशा सिर्जना गर्न सक्नुपर्छ’, उनले भने, ‘कानुनले दिएको अधिकार प्रयोग गर्दै जनताले प्राप्त गर्ने सेवा प्रवाह चुस्तदुरुस्त गर्नुपर्ने दायित्व जनप्रतिनिधिको हो।’

फजुल खर्च घटाएर पारदर्शीरूपमा काम गर्न सुझाव दिँदै डा. काफ्लेले युवालाई नेपालमा रोक्न उत्पादनशील र रोजगारीका क्षेत्रमा बजेट विनियोजन गर्नसमेत सुझाव दिए।

कांग्रेस महासमिति सदस्य बाबुराम आचार्यले स्थानीय तहका जनप्रतिनिधिले जनताको घरआँगनको सरकार भएकाले राम्रो काम गरेर देखाउन सक्यौँ भने फेरि पनि जनताले मत दिएर विजयी गराउने भएकाले जनताप्रति जिम्मेवार भएर काम गर्न सुझाव दिए।

अझै पनि राजनीतिक दलहरूप्रति जनताको आशा एवं भरोसा रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर उनीहरूको सेवामा दिनरात खट्न समेत सुझाव दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रमा नेपाली जनता नै सर्वेसर्वा भएकाले उनीहरूको सेवक भएर काम गर्न सुझाव दिए। शर्माको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षको उपस्थित थियो।

Logo