महरालाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले पायाे अनुमति

महरालाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले पायाे अनुमति

केन्द्रबिन्दु
112
Shares

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको हो । सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका महरालाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार अदालत उपस्थित गराएको थियो । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिइ कागज गरी छाडेको थियो ।

यसैबीच सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएकाे थियाे । त्यसलगत्तै उनी पक्राउ परेका हुन् ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो । उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।

Logo