युरोप पुगेर रेनु दाहालले दिइन् भरतपुर भ्रमण वर्षको निम्तो

युरोप पुगेर रेनु दाहालले दिइन् भरतपुर भ्रमण वर्षको निम्तो

केन्द्रबिन्दु
42
Shares

चितवन। पुरस्कार ग्रहण गर्न बेलायत पुगेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन्।

उनले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिएकी हुन्। यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उनले निम्ता दिएकी छन्।

प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग भेट गरी भ्रमण वर्ष सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको बताइन्।

दाहाल ती देशका गैरआवासीय नेपाली सङ्घलगायतका सङ्घसंस्थाहरूका कार्यक्रममा सहभागी भएकी थिइन्। उनि युरोपमा रहँदा नेपाली सङ्घसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइन्। ती कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आफूले आग्रह गरेको उनले जानकारी दिइन्।

उनले युरोपियन पर्यटकलाई नेपाल आउने वातावरण सिर्जना गर्न र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिन्। दाहालले ती देशका सिटी काउन्सिलका प्रतिनिधिसँग भेट गरेकी थिइन्।

रोयल बरो अफ ग्रिन ह्वीच सिटीका उपप्रमुख जित रानाभाट र रुसमुर बरो काउन्सिलका काउन्सिलर धन सार्की तथा नेम थापासँग पनि भेट गरेर भ्रमण वर्षका बारेमा कुराकानी भएको दाहालले बताइन्। सोही क्रममा उनि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैरआवासीय नेपाली सङ्घ बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन्।

यस्तै स्पेनमा गरिएको ‘राजनीति र कूटनीतिमा नेपाली महिला’ विषयक कार्यक्रममा उनि सहभागी भइन्। सो कार्यक्रममा उपस्थित भएकाहरूलाई पनि भ्रमण वर्षको निम्तो दिइएको थियो। यस्तै नेपाली जनप्रगतिशील मञ्च युरोपको पाँचौँ महाधिवेशनको उद्घाटन र स्पेनको चौथो घोषणासभामा उनले भ्रमण वर्षको निम्तो दिइन्।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्तवपूर्ण पर्यटकीयस्थलका बारेमा जानकारी गराउन आग्रह गरेकी थिइन्। भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने लक्ष्य लिएको छ ।

Logo