जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौती -माधव नेपाल

जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौती -माधव नेपाल

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् ।

अध्यक्ष नेपालले ५९औँ जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै शताब्दीऔँदेखि थोपरिएको जातीय छुवाछूत, अन्याय, अत्याचार, भेदभाव र अमानवीय व्यवहार वर्तमान समयका निम्ति चुनौती बनिरहेको बताएका हुन् । जातीय भेदभावविरुद्धका योद्धाप्रति श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दै उनले नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको प्रक्रियामा अघि बढेको छ भने ।

ऐतिहासिक जनक्रान्तिको बलबाट पुनःस्थापित प्रतिनिधिसभाबाट छुवाछूतमुक्त राष्ट्र घोषणा, नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद, जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य, धारा २४ र ४० मा दलितसम्बन्धी मौलिक हकको सुनिश्चितता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेकाले जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व भएको बताए ।

जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्नका लागि कानुनी प्रावधानको कार्यान्वयनमा जोड दिँदै अध्यक्ष नेपालले सामाजिक जागरण र राजनीतिक अभियानका लागि दलित समुदायलाई थप सशक्तीकरण गरी अपेक्षित सफलता प्राप्त कायम हुने विश्वास व्यक्त गरे । दलित समुदायको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि आगामी २०८१ देखि २०९१ को अवधिलाई दलित अधिकार दशकका रूपमा घोषणा गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष नेपालले यस रूपान्तरण अभियानमा आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न राजनीतिक दल, तीनवटै तहका सरकार, कर्मचारी, नागरिक समाजलगायतलाई आग्रह गरे ।

Logo