सरकार दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्दैछ : प्रवक्ता शर्मा

सरकार दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्दैछ : प्रवक्ता शर्मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सरकारले दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको जनाएको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन्।

नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १० औँ वार्षिक साधारणसभामा शुक्रबार उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पनि वैदेशिक लगानी ल्याउन ऐन, कानूनहरू असहज रहेको भन्ने छलफल भएको भन्दै, दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिइन्।

शर्माले भनिन्, ‘हिजोको मन्त्रिपरिषद्को बैठकमा पनि के कुरा भएको छ भने, कयौं हाम्रो वैदेशिक लगानीलाई ल्याउनका लागि हाम्रा ऐन, कानुन र नीति नियमहरू केही अलि असहज र अप्ठ्यारा छन् भन्ने कुरा पनि भएको छ। हामीले दर्जनभन्दा बढि कानुनहरू फास्ट ट्रयाकबाट संसोधन गर्ने भनेर तयारी गरिरहेका छौं।’

मन्त्री शर्माले नेपाल प्राकृतिक सांस्कृतिक र सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्य स्थल रहेकोले पर्यटकको सङ्ख्या गुणात्मक रुपमा बढाउँन आवश्यक रहेको बताइन्। संस्थालाई इटालीसँगको दुईपक्षिय व्यापार अभिवृद्धि गरी नेपालमा थप लगानी गर्न इटालियनहरुलाई थप उत्साहित गर्ने कार्ययोजना अगाडि सार्न उनले आग्रह गरिन्।

उनले भनिन्, ‘प्राकृतिक सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको हाम्रो देशमा पर्यटकको सङ्ख्या गुणात्मक रुपमा बढाउन आवश्यक छ। दुईपक्षिय व्यापार अभिवृद्धि र पर्यटन प्रवद्र्धनसँगसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउन काम गर्दै आएको यो संस्थाले इटालियनहरुको लागि थप लगानी गर्न उत्साहित गर्ने थप कार्ययोजना अगाडि सार्न आग्रह गर्दछु।’

Logo