नेपालको आवश्यकतालाई मुखरित गर्न सरकार प्रयासरत छ -प्रधानमन्त्री प्रचण्ड

नेपालको आवश्यकतालाई मुखरित गर्न सरकार प्रयासरत छ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको समेत बताए ।

“शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ । सकेसम्म मेरो कोसिस सबै राजनीतिक दललाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो”, उनले भने, “कहिले नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूले मन दुखाउनुभएको छ । हामीलाई चाहिएको सुशासन र समृद्धि हो । त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सकेनौँ भने निकै अप्ठ्यारो स्थितिको सामना हामीले गर्नुपर्नेछ ।”

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही मानकहरू स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवश्यकता के हो भन्ने कुरालाई मुखारित गर्न वर्तमान सरकार प्रयासरत रहेको उनको भनाइ छ ।

“नयाँ संविधान निर्माणपछि देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा छ । सङ्घीय प्रणालीअनुसार आवश्यक ऐन, कानुनको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको छ । वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्दै आफ्नो आर्थिक समृद्धिको दिशामा अग्रसर हुनुपर्ने चुनौती हाम्रासामु छन्”, प्रधानमन्त्री दाहालले भने ।

तीन तहको सरकारका बीचमा आयोजना छनोटमा देखिएको अराजकता हटाउने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइने पनि उनले बताए ।

सरकार पूर्ण स्वतन्त्रताको पक्षमा रहेको तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको हितका निम्ति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले आमसञ्चार माध्यममा सबै जाति, वर्ग, भाषा र समुदायको पहुँच बढ्नेगरी सञ्चार नीतिमा पुनरावलोकन गर्न लागिएको उल्लेख गरे ।

Logo