सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी हुन् । सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो ।

“आजभोलि सहकारीपीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताउनुभयो । फुटपाथमा व्यवसाय गर्ने उहाँले सहकारीमा जम्मा गरेको रकम डुबेछ”, उनले भनिन्, “ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताउनुभयो । उहाँ प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।”

सांसद गौतमले सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै उनले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको बताइन् । उनले लाखौ व्यक्तिले दुःख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारीपीडितको पीडा देख्न नसकेको उल्लेख गरिन् । सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्कारुपमा लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् ।

सहकारीपीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उनको भनाइ छ ।

उनले सहकारीपीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको बताइन् । जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।

Logo