गृहमन्त्री लामिछाने दम्पति नै सहकारी प्रकरणमा मुछिए, वाइडबडी जहाजमा डेढ अर्ब भ्रष्टाचार [भिडियाे]

गृहमन्त्री लामिछाने दम्पति नै सहकारी प्रकरणमा मुछिए, वाइडबडी जहाजमा डेढ अर्ब भ्रष्टाचार [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

बिहीवार दिनभरका प्रमुख खबर-

कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्यायाे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले जिल्ला सभापतिसमेत रहेका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ को निर्वाचनमा खड्का नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । तर, नेम्वाङको निधन पछि रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले खड्कालाई नै दोहो¥याउने निर्णय लिएको हो । साथै बझाङ १ कमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

अब प्रत्येक दिन सबै मन्त्रीहरुले प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने

अब प्रत्येक दिन सबै मन्त्रीहरुले आफूले दिनभरि गरेको काम बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने निर्णय भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय भएको बताएका हुन् । त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउने उनको विश्वास छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीकाे राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । आज विश्वासको मत लिने तयारीका बीच मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना नदेखेपछि प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका हुन् । फेरिएको सत्ता समिकरणमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो।

कर्णालीमा मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकियाे

कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको छ। बुधबार मात्रै मुख्यमन्त्री छाडेको माओवादी केन्द्रले सभामुख र चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबिच भेट भएको थियो । तर पनि निकास निस्कन सकेन । कँडेलले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री पत्नी निकिता पनि

सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । पौडेल सो सहकारीकी सेयर सदस्य हुनुका साथै उनी सो सहकारीको निवर्तमान उपाध्यक्ष समेत रहेकी छिन् । बचतकर्ताहरुको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि अनुसन्धानमा तानिएको सो सहकारीमा महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो । महानगरपालिकाको टोलीद्वारा अनुगमन गरीएको सोसहकारीबाट आवश्यक कागजातहरु नियनत्रणमा लिएको छ ।

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वाइडबडी जहाज खरिदमा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व सचिवद्वय शंकर प्रसाद अधिकारी, शिशिर कुमार ढुंगानासहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको छ ।

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त

सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राडा पशुपति चौधरीलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष पदमा चौधरीलाई र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, सरकारले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने पनि निर्णय गरेको छ ।

मेलम्चीमा थप चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने

मेलम्ची खानेपानी आयोजना बाह्रै महिना सञ्चालनमा ल्याउन थप चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बिहीवार यस्तो बताएका हुन् । अहिले आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने अवस्था छ । आयोजनास्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले कुनबेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का रहेको उनको भनाई छ ।

एक खर्ब बराबरको लगानी स्वीकृत

बिहीबार बसेको लगानी बोर्डको ५७औं बैठकले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपरतमोर जलविद्युत आयोजना,अपर मोरङ ए जलविद्युत आयोजना,कोहलपुर बाडगंगामा रहेको सौर्य उर्जा परियोजना,हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना गरी पाँच वटा परियोजनाका लागि करिव १ खर्ब बरारको लगानी स्वीकृत भएको हो ।

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियाे

यस वर्षको माघ महिनामा केही सुस्ताएको रेमिट्यान्स फागुनमा पुनः लयमा फर्किएको देखिएको छ । फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसअघि माघमा भने १ खर्ब ६ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो । चालु आथिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको हो ।

शेयर बजार ओरालो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सातमा कारोबार भएको छ ।

इरानमा प्रहरी र बन्दुकधारीबीच झडप

दक्षिणपूर्वी इरानको दुई छुट्टाछुट्टै ठाउँमा सुरक्षा बल प्रहरी र बन्दुकधारीबीच झडप भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तमा भएको झडपमा इरानी सुरक्षा बलमा पाँच जना सदस्य र आठ जना बन्दुकधारीको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । बन्धुकधारीले इरानको राजधानी तेहरानदेखि झन्डै एक हजार चार सय किलोमिटर पर दक्षिण–पूर्वी शहरमा एक रिभोल्युशनरी गार्ड पोस्ट र चाहबहार शहरमा एक तटरक्षक स्टेशनमा गोलीबारी गरेपछि दुई समूहबीच झडप भएको थियो ।

फिफा बरियतामा नेपाल खस्कियाे

फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ बरियताक्रम जारी गरेको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको हो । त्यस्तै फिफा वरियताको शिर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ ।

Logo