कांग्रेसकाे प्रश्न- रवि लामिछाने भएकै कारण अनुसन्धान नै रोकिने हो ? [भिडियाे]

कांग्रेसकाे प्रश्न- रवि लामिछाने भएकै कारण अनुसन्धान नै रोकिने हो ? [भिडियाे]

केन्द्रबिन्दु
126
Shares

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सदन अवरुद्ध भएको छ ।

आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए । उनले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गरिन् ।

सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भनी सरकारसँग प्रश्न गरिन् ।

‘रवि लामिछानेको ठाउँमा अरू जोकोही भए पनि अनुसन्धान हुन्थ्यो होला, कानून लाग्थ्यो होला। अनि रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो? सरकार जबाफदेही हुन पर्छ कि पर्दैन?,’ उनले भनिन्।

साथै उनले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराएका थिइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गरेका थिए । नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

Logo