लगानी सम्मेलनबारे प्रधानमन्त्री प्रचण्डले गरे कूटनीतिक निकायहरूसँग छलफल

लगानी सम्मेलनबारे प्रधानमन्त्री प्रचण्डले गरे कूटनीतिक निकायहरूसँग छलफल

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी वैशाख १६ र १७ मा आयोजना गर्न लागिएको तेश्रो नेपाल लगानी सम्मेलन २०२४ का सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा कार्यान्वयन साझेदार संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका छन्।

प्रधानमन्त्रीले नेपालले लगानीको वातावरण सुधारका लागि महत्वपूर्ण कानूनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानी परियोजनाहरू समेत तयार रहेको जानकारी गराउँदै सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोग नेपाल सरकारले अपेक्षा गरेको बताए।

लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू शोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्वान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाहित हुनेछ भन्ने सरकारले विश्वास लिएको छ,’ प्रधानमन्त्रीले भने, ‘सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध छ । लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिनेछ ।’

प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्ति (रियलाइजेसन) मा निर्भर हुने भन्दै लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत् विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे । कूटनीतिक नियोग, दातृ निकाय तथा लगानीकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै नेपाललाई लगानीकर्ताको मुख्य छनौटको गन्तव्य बनाउन पहल गरिएको उनको भनाई थियो ।

छलफल कार्यक्रममा मुख्यसचिव वैकुन्ठ अर्यालले द्विपक्षीय लगानी समझदारीको फ्रेमवर्क मन्त्रिपरिषदबाट पारित भइसकेको जानकारी गराए , लगानी सम्मेलनमा शोकेस हुने परियोजनाहरूको सूची र विवरण छिट्टै सार्वजनिक गरिने उनले सो अवसरमा जानकारी दिए।

कार्यक्रमको प्रारम्भमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले आगामी लगानी सम्मेलनको तयारी, संशोधन हुन लागेका कानूनहरू तथा लगानी सम्मेलनमा शोकेसका हुने परियोजनाबारे जानकारी गराएका थिए।

सम्मेलनले नीति निर्माता, निजी क्षेत्र, लगानीकर्ता, विकास साझेदार, ऋणदाता, विकास वित्त प्रदायक, बैंक तथा वित्तीय संस्था, विज्ञ, थिंकट्यांक लगायतलाई एकै ठाउँमा ल्याउने हुँदा विदेशी तथा स्वदेशी लगानीकर्ता तथा अन्य सहभागीहरूका लागि नेटवर्किङ गर्ने, लगानी सम्भाव्यता पहिल्याउने र लगानी सम्बन्धी सम्झौता गर्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने उनले चर्चा गरे।

छलफलमा विभिन्न मुलुकका राजदूत र विकास साझेदार संस्थाका प्रतिनिधिहरूले कानून संशोधनका व्यहोरा, परियोजनाका विवरण तथा द्विपक्षीय लगानी संरक्षण सम्झौता जस्ता विषयमा चासो राखेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए। उनीहरूले लगानी सम्मेलनको पूर्ण सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका थिए। कार्यक्रममा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री तथा सरकारका सचिवहरुको उपस्थिति थियो।

Logo