युवाको विदेश पलायन उच्च रहेकाले गम्भीर हुने बेला आएको छः डा.शेखर कोइराला

युवाको विदेश पलायन उच्च रहेकाले गम्भीर हुने बेला आएको छः डा.शेखर कोइराला

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएकाले त्यसलाई निस्तेज पार्न राजनीतिक दलहरुमात्र सक्षम रहेको बताएका छन्।

शनिबार बिहान नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै डा. कोइरालाले राजनीति समाज सेवा,राष्ट्र निर्माणको अभियान भएको र सो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु नहुने धारणा राखेका हुन्।

तर,राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले नराम्ररी जनताको कठघरामा उभ्याएको पनि उनले उल्लेख गरे।

कोइरालाले विसं २०८० को शुभकामना दिएको स्मरण गर्दै नेपालमा नयाँ दशक र नयाँ युगको सुरुवात भएर आम नेपालीको जीवनमा खुसीयाली आउनेछ भनी आफ्नो अभिमत प्रकट गरेको भएपनि त्यसमा पर्याप्त सुधार नभएको बताए।

‘वितेको साढे तीन दशकमा शासकीय व्यवस्थामा आएको पटक पटकको परिवर्तनले आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकासलाई अवरोध पुग्दापुग्दै पनि हामीले त्यस क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सन्तोषजनक मान्न सक्छौं। अझ खास गरी सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदायसँग नागरिकबीचको अन्तरसम्बन्ध बढाएर अगाडि बढ्ने कार्यमा, पर्यावरण र मानवअधिकारको पक्षमा हामी झन्डै एउटै छातामुनि पुग्यौं,’डा.कोइरालाले भनेका छन्।

डा.कोइरालाले नेपाली युवाहरुको विदेश पलायन रोक्नुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘नेपाल युवाहरूको देश भनेर चिनिन्छ। तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ। राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न। जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन।’

Logo