‘चीन र भारतको आर्थिक विकास र स्थिरताबाट नेपालले सिक्नुपर्छ’ -पूर्वअर्थमन्त्री लोहनी

‘चीन र भारतको आर्थिक विकास र स्थिरताबाट नेपालले सिक्नुपर्छ’ -पूर्वअर्थमन्त्री लोहनी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रममा लोहनीले स्व. थापा उदार, कसैप्रति पनि पूर्वाग्रह नराख्ने, आफ्नो आचोलना गर्नेसँग पनि नजिक भएर मिलेर काम गर्न सक्ने खुबी भएको स्मरण गर्दै अहिले देशमा सबैलाई समेटेर लैजाने परिस्थितिको आवश्यकता रहेको औंल्याएका हुन्। उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट आर्थिक विकास र राजनीतिक स्थिरतालाई सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति र संस्कृतिको आवश्यक छ ।’

उनले थपे, ‘एकातिर चीन छ, एकातिर भारत छ । दुईवटा देशमा तीन कुराको समानता छ । एउटा समानता भनेको दुईवटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले मेजोरिटी लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ । चाइना आफैं पनि विश्व शक्ति भयौं भनेर आएको छ र त्यहाँ राजनीतिक स्थिरता छ । यी दुवै देशमा आर्थिक विकास तिव्र रुपमा भएको छ । र तेस्रो भनेको दुवै देशमा राष्ट्रियता असाध्यै बलियो रुपमा आएको छ ।’

पूर्वअर्थमन्त्री लोहनीले नेपालको राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र आफ्नो राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए । उनले एकले अर्कालाई आलोचना गर्ने भन्दा कसैले कसैलाई निषेध नगरी देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सबैको सहमति हुनुपर्ने आवश्यकता औंल्याए ।

Logo