‘नेता–व्यवसायी विमतिले मुलुक गम्भीर भूराजनीतिक भुमरीमा’ -अध्यक्ष भट्टराई

‘नेता–व्यवसायी विमतिले मुलुक गम्भीर भूराजनीतिक भुमरीमा’ -अध्यक्ष भट्टराई

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नेता र व्यवसायीहरुमा एकअर्काको खुट्टा तान्ने प्रवृति हाबी हुँदा मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फसेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आइतबार आयोजित ‘नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ–राजनीतिक सम्बन्धहरुबारे ध्यान नदिँदा नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताए।

उनले भने,‘यहाँ नेता र व्यवसायीहरु एकअर्काका खुट्टा तान्नमै व्यस्त रहे। जसकारण मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फस्यो। हामी अर्थ–राजनीतिक सम्बन्धबारे ध्यान दिइरहेका छैनौँ। खालि भौगोलिक, राष्ट्रियता र सीमाका कुरा त हामी गर्छौं।’

सुगौली सन्धिपछि भारतसँगको खुला सिमानाका कारण नेपालको अर्थतन्त्र परनिर्भर भएको उनको भनाइ छ।

उनले भने,‘सुगौली सन्धिदेखि यता भारतसँगको जुन खुला सिमाना हो, जुन सन्धिका प्रावधानहरु हुन् ती कारणले गर्दा हाम्रो अर्थतन्त्र परनिर्भर छ। हाम्रो बजार त भारतीय बजारको नियन्त्रणमा छ। यो सबै त सुगौली सन्धि यताको घटनाक्रमले नै देखाउँछ नि।’

सुगौली सन्धिपछि नेपालका अधिकांश उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका उल्लेख गर्दै उनले भारतीय बजारले नेपालको अर्थतन्त्र निमोठेको बताए।

‘सन्धिपछि नै अधिकांश उद्योगधन्दा बन्द भए केही प्रतिस्पर्धा गर्न नसकेर गए। अहिले पनि त्यस्तै छ नि। भारतीय बजारले पटक पटक नेपालको अर्थतन्त्र निमोठेको छ,’ उनले भने।

नेपालको बजार अझै पनि कृषि क्षेत्रमा नै निर्भर रहेको बताउँदै उनले कृषिमा वैज्ञानिक क्रान्ति गर्न सकेमात्र अर्थतन्त्र बलियो बन्न सक्ने दाबी गरे।

Logo