इलाम-२ उपनिर्वाचनः कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

इलाम-२ उपनिर्वाचनः कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

केन्द्रबिन्दु
42
Shares

इलाम। इलाम-२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन्। सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन्।

कांग्रेस इलामको सभापतिसमेत रहेका खड्काले ‘समृद्ध इलाम’ को परिकल्पनासहितका आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन्। उनले इलामेली किसानको मुद्रामा सहयोग गर्ने गरि आफूले काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।

सडक, शिक्षा, उद्यमशीलता, पर्यटन र इलामलाई डिजिटल बनाउनेसम्मका कुरा अवधारणा पत्रमा उल्लेख गरेका छन्। ‘इलम इलाम’ नाम दिइएको अवधारणा पत्रमा जनतालाई रोजगार र उद्योगतर्फ अगाडी बढाउनेसहितका कार्यक्रम ल्याएका छन्।

इलाममा २०८२ सालमा लगानी सम्मेलन गर्ने, सोही वर्ष इलाम भ्रमण वर्ष घोषणा गरेर जिल्लाको विकासमा लागिपर्ने उनको संकल्प छ। तर यी मुद्दा सफल बनाउन इलाम क्षेत्र नम्बर दुईका जनताले आउने चुनावमा रुख चुनाव चिन्ह्मा मतदान गरेर आफूलाई जिताउन उनको आग्रह छ।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन्।

उनले ‘इलम इलाम’ अवधारणाले इलाम २ वासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूति आत्मसात गरेको बताएका छन्। उनले आफ्नो गठबन्धन नितान्त जनतासँग रहेको उल्लेख गर्दै इलामे जनताको सेवामा सधैं समर्पित हुने पनि जनाएका छन्।

विगत लामो समयदेखि जनताको सेवामा आफू लागेको भन्दै उनले जनताको मनमनमा गठबन्धन गरेको बताएका हुन्। जनता अप्ठ्यारोमा परेको समयमा आफूले सहयोग गरेको भन्दै उनले जनताले यस पटकको निर्वाचनमा आफूलाई नै मतदान गर्ने उनको भनाई छ।

यही वैशाख १५ मा हुने उपनिर्वाचनमा १९ उम्मेदवार मैदानमा छन्। कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

Logo