सञ्चारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ : मन्त्री शर्मा

सञ्चारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ : मन्त्री शर्मा

केन्द्रबिन्दु
42
Shares

दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ दाङले आजदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उनले सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिए।

नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने मन्त्री शर्माले बताए। सञ्चारमाध्याममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्नेमा उनले जोड दिए।

“समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन्। उनीहरुका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतातर्फ जाने सम्भावना बढी हुन्छ”, मन्त्री शर्माले भने, “यसले प्रशासन, पत्रकारितालगायत जुनसुकै क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ। त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ।”

सञ्चारमाध्यामले विदेश जान लाइन लागेका व्यक्तिलाई समावेश गरिरहँदा विदेशबाट स्वदेश फर्किएर स्वरोजगार बनिरहेका, कृषि, व्यापार व्यवसाय तथा अन्य पेसाका माध्यमबाट समाजमा उदाहरणीय बनेका व्यक्तिका विषय समावेश नगर्दा युवापुस्तामा विदेश जान प्रेरणा मिल्ने गरेको मन्त्री शर्माको भनाइ छ।

पत्रकार महासङ्घले मुलुकमा गणतन्त्र स्थापनाका लागि सुरुमा आवाज उठाएको भन्दै यसबाट प्राप्त उपलब्धि जोगाउन महासङ्को भूमिका महत्वपूर्ण हुने उनले बताए।

“सञ्चारमाध्यम तथा महासङ्घले गणतन्त्र स्थापनामा अहोरात्र कलम चलाउँदा आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा परिचित भएका हौँ”, मन्त्री शर्माले भने, “सञ्चारमाध्यमले हाम्रो सङ्घर्ष र उपलब्धिका बारेमा नयाँ पुस्तालाई बुझाउन आश्यक छ।”

Logo