सहकारी प्रकरणको छानबिनमा आपत्ति छैन, तर कांग्रेसले राजनीतिक मुद्दा बनायोः सन्तोष परियार

सहकारी प्रकरणको छानबिनमा आपत्ति छैन, तर कांग्रेसले राजनीतिक मुद्दा बनायोः सन्तोष परियार

‘संसदमा दल हावी भए, पार्टीमा व्यक्ति नेता हावी भए’

केन्द्रबिन्दु
98
Shares

वैशाख २८ गते शुक्रबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग छोडेको छैन । अघिल्लो अधिवेशनदेखि नै कांग्रेसले यो माग उठाउँदै आएको थियो । विधेयक अधिवेशन अन्त्य भएको बेला पनि कांग्रेसले भनेको थियो की अर्को अधिवेशन सुरु भएकै दिनबाट यो माग फेरि उठाउने । तर बजेट अधिवेशन आह्वान भइसक्दासम्म कांग्रेसको माग पूरा हुने छाँट छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन अस्विकार गरेकाे छ । यसै विषयमा केन्द्रित रहेर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग कुराकानी गरेका छौं ।

भोलि (वैशाख २८ गते शुक्रबार) देखि बजेट अधिवेशन सुरु हुँदैछ । के छ संसदको हालखबर ?

-म संसद छिर्दै गर्दा पनि पार्टीका अन्य गतिविधि भन्दा संसदीय भूमिकामा प्रस्तुत हुन पाए हुन्थ्यो जस्तो लागेको थियो, जतिबेला म संसद जाँदै थिएँ । मैले अहिले पनि संसदलाई नजिकबाट बुझिरहेको छु, बुझ्ने प्रयास गरिरहेको छु । लामो समयको विभिन्न संघर्षबाट ल्याइएको पछिल्लो राजनीतिक व्यवस्था गजबको छ । तर, हामीले राजनीतिक परिवर्तन त गर्यौं मानसिकता भने परिवर्तन गर्न सकेनौं । हाम्रो मानसिकता अझै पनि परिवर्तन भएको छैन । हाम्रो संसदीय अभ्यास २०४६ सालको बहुदलीय अवस्थामा जस्तो थियो, त्यस्तै छ ।

मूलतः अभ्यस्त पार्टीहरु, अनुभवी पार्टीहरु गणतन्त्र र संविधान निर्माण भएपछि पनि उनीहरुले गर्ने क्रियाकलापमा फरक गरेजस्तो मैले देखेको छैन । हुनुपर्ने धेरै राम्रो थियो, प्रभावकारी हुनुपथ्र्यो संसद तर भएन । हामी ससाना कुरामा अल्मलियौं र हिउँदे अधिवेशनमा त्यसरी नै अल्मलियौं । भोलिदेखि सुरु हुने अधिवेशन कतातिर जान्छ टुंगो छैन । बजेट बनाउनुपर्ने महत्वपूर्ण भूमिकामा हामी छौं । जसरी पनि बजेट त ल्याउनैपर्छ । त्यसैले जुन परिवर्तन हामीले लामो समयको संघर्षबाट गर्यौं त्यो परिवर्तनलाई यथार्थ बनाउने खालको संसदीय गतिविधि भैरहेको छैन ।

संसदीय अभ्यासमा परिवर्तनलाई यथार्थमा परिणत गर्न सकेनौं भन्नुभयो । यसको कारण के होला त ? सांसदहरुको व्याक्तिगत कमजोरी हो कि, दलहरुको संस्थागत कमजोरी हो कि या हाम्रो संसदीय प्रणाली नै कमजोर छ ?

-सांसदहरुको व्यक्तिगत कमजोरी हो जस्तो मलाई लाग्दैन । संसदको संरचनामा पनि त्यस्तो केही समस्या छैन । समस्या पार्टीमा हो । हुन त हाम्रा पार्टीहरुले नै संसद बनाएको हो । तर संसद पुरै पार्टीको कब्जामा छ । यस्तो हुनुहुँदैन भन्ने पनि होइन, राजनीतिक रुपमा संसद पार्टीहरुकै हो । तर पार्टीहरु नै अमूक नेताहरुको कब्जामा छन् । यो खतरनाक समस्या देख्छु म । संसद पार्टीको कब्जामा छ । पार्टी अमूक नेताको कब्जामा छ । पार्टीहरुमै छ समस्या । नत्र संसदबाट धेरै कुराहरु गर्न सकिन्थ्यो । म अहिले पनि गम्भीर रुपमा हेर्छु कस्तो–कस्तो कुरा उठ्छ संसदमा भनेर । जनताका समस्याहरु, मानव अधिकार हनन भएका कुराहरु, शिक्षाका कुराहरु संसदमा सुनिँदैन । ठूला–ठूला राष्ट्रवादका कुराहरु गर्छौं, सीमा मिचिएका कुरा गर्छौं । अनि हामी भू–राजनीतिक कुराहरु पनि गर्छौं । तर आम जनताले भोगेका समस्याहरुको चर्चा पनि गर्दैनौं । संसदको सरोकारको विषय मान्छे हो कि माटो हो ? मान्छेको जीवन हो कि भूगोल हो ? यो जटिल विषय छ । तर, एउटा कुरा जसरी पार्टीहरुले संसदको उपयोग नभइ प्रयोग गरिरहेका छन् । त्यो नै गलत छ भन्ने लाग्छ मलाई ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु संसदमा प्रवेश गरेपछि केही नयाँपन र फरक शैलीको प्रदर्शन भएको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकेको जस्तो देखिन्छ नि । शिक्षा, स्वास्थ्य र सुशासनका कुराहरु उठ्न छोडेका हुन् ?

-हामीले संसदको सीमिततालाई पनि ध्यान दिनुपर्ने हुन्छ । यो असीमित पनि छैन । यहाँ सिर्जनात्मक रुपमा काम गर्ने ठाउँहरु जति पनि छन् । तर यसको सीमितता छ । हामीले सुरु सुरुमा यसरी विषयवस्तुको उठान गर्यौं कि हामीले उठाएका सबै मुद्दाहरु समाधान हुन्छन् भन्ने लाग्थ्यो । त्यो हामीमा अनुभवको कमीले पनि होला । म आफैंलाई पनि मैले केही विषय उठाएँ भने त्यो विषय टुंग्याउनुपर्छ भन्ने लाग्थ्यो । मैले सुरुआती दिनमा उठाएका केही विषय टुंगिएका पनि छन् । उठाउनका लागि मात्र नउठाउँ भन्ने बुझाई गलत रहेछ मेरो । हाम्रा साथिहरुले उठाएका धेरै कुराहरुले सकारात्मक रिस्पोन्स पनि पायो । तर अनुभवी पार्टीहरुले सांसदको संख्याका रुपमा सीमित बनाउन लागे । लोकतान्त्रिक रुपमा बनाउँदाखेरि त बहुमत र अल्पमत होला । तर, संविधानले व्यवस्था गरेको कुरामा कसरी अल्पमत र बहुमत हुन्छ भन्या ?

जुन कुरा संविधानले भनेको छ त्यो कुरा गर्न हामी संख्यामा जाने हो र ? त्यो त वाध्यकारी होला नि त । प्राविधिक रुपमा हामीले संख्यालाई मात्र हेर्यौं भने हामी केही पनि गर्न सक्दैनौं । तर फेरि सत्ता पक्ष र प्रतिपक्ष हुँदाखेरि फरक हुँदो रहेछ । मत बाझिनु पनि भएन । म त अझ प्रमुख सचेतक भएको हिसाबमा कतिपय ठाउँमा साथिहरुलाई रोक्छु । तर हामीले एउटा प्रयास के गर्यौं भने हाम्रा मन्त्रीले के गर्दैछन् । महिनादिनमा समीक्षा गर्छौं । जेहोस् हामी परम्परागत तरिकाले जाँदैनौं । छलफलको दायरा बढाउने कुरामा हाम्रो जोड छ ।

संसदसँग सरकारले कतिको सहकार्य गरेजस्तो लाग्छ तपाईंलाई ?

-यो एकदम बहसमा ल्याउनुपर्ने कुरा छ । सरकार संसदप्रति जवाफदेही हो हाम्रो व्यवस्था अनुसार । हाम्रो संविधानले त्यही भन्छ । संसदले सरकार बनाउने हो । तर समस्या के छ भने जसले सरकार बनाउँछ त्यो बहुमतमा हुन्छ । यो कता कता मिलिरहेको छैन । यसबारे सोच्नुपर्दा ठूलो राजनीतिक मुद्दा हुन्छ । यसमा हामीले गणतन्त्रको जस्तो बहस छेडेका थियौं त्यो तहको बहस गर्नुपर्ला जस्तो छ । तर, संसदले सरकार बनाउँछ । अनि सरकार कसले बनाउँछ जो सँग बहुमत छ । संसद त फेरि पनि प्यारेलाइज भयो । सरकारलाई त संसदले निगरानी गर्ने हो । यो पार्टी विशेषको समस्या होइन । राजनीतिक समस्या हो । अर्को सरकारले संसदको गतिशिलता बुझ्दै बुझ्दैन । सरकार संसदसँग भाग्छ । संसद जान नपरे हुन्थ्यो भनेर सोच्छ । संसद चलाउने जिम्मा त सरकारको हो नि । प्रधानमन्त्रीले संसदको महत्व र प्रभावकारिता बुझ्ने हो भने त धेरै कामहरु गर्न सकन्थ्यिो नि । हामीसहितको सरकारको अनुभवलाई हेरेर भन्ने हो भने हामीले भर्खरै संसदबाट भागेर अध्यादेशबाट कानूनहरु निर्माण गरेका छौं । यो त राम्रो होइन । कि व्यक्तिगत रुपमा हामीले उन्नत चेत राख्नुपर्यो । सबै कुरा त लेख्न सकिँदैन नि । कि त संस्कारका रुपबाट विकास गर्न सकियो । होइन भने हामीले यसलाई करेक्सन गर्नुपर्दछ ।

संसदलाई प्रभावकारी बनाउनका लागि प्रतिनिधि सभाका सभामुख, दलका प्रमुख सचेतकहरु, संसद सचिवालयको सन्यन्त्रबीच छलफल गरेर पनि संसदलाई अझ मजबुत बनाउन सरकारको मनपरी रोक्न सकिँदैन ? तर दलहरुवीचमा संवादको यस्तो अभ्यास नभएजस्तो लाग्छ । किन त्यस्तो भएको होला ?

-आजको दिनमा हामी राजनीतिक दलका जति पनि प्रमुख सचेतक छौं, हामी असाध्यै सल्लाह गर्छौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसँग धेरै छलफल गर्छौं । उहाँ हाम्रै नेता जस्तो हुनुहुन्छ । हामी सबै मिलेर सभामुखलाई धेरे हदसम्म सहयोग गरेका छौं । आजको दिनमा हाम्रो सर्वोच्च नेता भनेको सभामुख नै हो । उहाँको भूमिका पनि अत्यन्त धेरै छ संसदलाई प्रभावकारी बनाउन बेला बेला शीर्षदलका नेताहरुलाई बोलाएर छलफल गरिरहनु भएको छ । तर जतिभने पनि राजनीतिक रुपमा पार्टीहरु नमिलेसम्म यहाँ समस्या देखिन्छ । दलका शीर्ष नेताहरु मिलेर जान नसकेसम्म संसदको प्रभावकारिता बढाउन सकिन्छ जस्तो मलाइ लाग्दैन ।

सरकारका आधिकारिक एजेन्सीहरु र समितिहरुमा भन्दा पनि पार्टीका शीर्षस्थ नेताहरु बसेर टुंग्याउनुपर्छ भन्ने परिपाटी धेरै प्रयोगमा ल्याईयो नि यसले हाम्रो संसदीय पद्धतिलाई त मद्दत गरेको देखिएन नि ।

यो कुरा एकदम सही हो । यो प्रवृत्तिले हामीलाई लोकतान्त्रिक हुन दिएको छैन । सांसदको व्यक्तिगत क्षमतामा प्रस्तुतिमा पनि कहीँ न कहीँ विकास हुन दिएको छैन । यो वास्तवमा राम्रो भइरहेको छैन । यो किन हुन्छ भन्दा जब हामी विधि, विधानभन्दा पर जाँदाखेरि यस्ता समस्या देखिएका हुन् । राष्ट्रिय राजनीतिक मुद्दा त जसले टुंग्याउँदा पनि हुन्छ नि त । त्यो मुद्दा हेरेर होईन नेता हेरेर टुंगिन्छ । यसले पनि संसदलाई असर गरेको देखिन्छ ।

भारत, बेलायत र युरोपियन संसदमा बौद्धिक खुराक दिएर संसदलाई मार्गनिर्देशन गर्ने क्षमताका सदस्यहरु हुन्छन् । तर हाम्रो संसद अलिक रुखो जस्तो देखिन्छ, तपाईंलाई यस्तो लाग्दैन र ?

म संसद जाँदाखेरि नेपाली कांग्रेसका दिवंगत नेता प्रदिप गिरीले बोल्दै गरेको र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संसद चलाएको आज पनि झल्झली सम्झन्छु । ती दुवै नेताहरु मेरो मानसपटलमा हुनुहुन्छ । उहाँहरुको शैलीले संसदलाई मार्ग निर्देश गर्ने खुराक दिईरहन्थ्यो । म ठान्छु संसद भनेको विचार प्रस्तुत गर्ने ठाउँ हो । मैले आजसम्म त्यहाँ बोलेका कुराहरु फरक छन् जस्तो लाग्छ मलाई । म धेरै पनि बोलेको छैन । सबै कुरामा ज्ञान नभएको कारण सबै कुरामा बोल्दिन पनि । बोल्नुपर्ने ठाउँमा यहाँ मैले हस्तक्षेप गर्नुपर्छ भन्ने लाग्यो भने सूचना त हातहातमा छ नि विचार नै दिने गरेर बोल्ने प्रयत्न गरेको छु । चाहिएको नै हामीलाई आदर्श र विचार हो । तर आज संसदले खोजेका त्यस्ता सदस्य छैनन् पनि भन्दिन म नदेखिएका पनि होलान् तर संख्या कम छ । तर हाम्रो संसदमा त्यस्तो गुणस्तरीय प्रस्तुति भन्दा पनि तत्कालिक बिषयमामाथि क्रिया र प्रतिक्रिया मात्र बढि गयो । विरोध र समर्थनमा बोल्ने, भाव र आवेगमा बोल्ने परिपाटी छ । तर सदनमा विचार नै दिने हो । नेता भनेको इमानदार र वैचारिक हुनुपर्दछ भन्ने मलाई लाग्छ ।

तपाईंले अघि एउटा प्रसंग ल्याउनुभएको थियो राजनीतिक दलभित्र नेताहरु हाबी हुन्छन् भनेर । संसदीय दलमा पनि प्रमुख सचेतक अलि बढि निरंकुश हुन्छन् र सांसदले आफ्ना कुराहरु राख्न पाउँदैनन् भन्ने गुनासोहरु पनि सुनिन्छ । तपाईं पनि दलको प्रमुख सचेतक हुनुहुन्छ नि ?

-हाम्रो पार्टी भित्र त्यस्तो केही छैन । तर, जिम्मेवारीले थेग्दो रहेछ । प्रमुख सचेतक त कस्तो हुँदो रहेछ भने सदन सुरु हुँदा पनि समय अगाडि जानुपर्ने, सक्किएपछि पनि सभामुखले जाउ नभनेसम्म अथवा केही नसकिएसम्म निस्कन नपाईने । मैले अनुभव गरेको के भने सदन नसकिएसम्म हामीलाई त्यो चिन्ता हुँदो रहेछ । कसैले गैरसंसदीय कुरा गरिहाल्ने हो कि, कँही कतै कुनै त्रुटि भैहाल्ने पो हो कि भन्ने चिन्ता भैरहँदो रहेछ । अब त्यो चिन्ता व्यवहारमा उतार्दाखेरि बोल्न दिएन, गर्न दिएन भन्ने गुनासो पनि गर्छन् सांसद साथीहरुले । तर म के कुरामा स्पष्ट छु भने राम्रो कुरा गर्न समय दिने तर नहुने कुरा रोक्ने नै काम हो । जे कुराले बजार पाउँछ त्यो कुरा बोल्ने जमात पनि बढ्दो छ । यही कुरा रोक्न खोज्दा कहिलेकाँही आरोप पनि आउने गरेका छन् । तर विचारका कुराहरुमा, फरक मतका कुराहरुमा हामीले विचारहरु राख्न दिएका छौं । हाम्रो त तीनजना साथीले तीनथरि कुराहरु गरेका हुन्छन् । तर संदनमा सांसदको व्यक्तिगत धारणा राख्ने स्वतन्त्राताका लागि प्रतिवद्ध छौं ।

सरकारले संसदलाई हेपेको जस्तो देखिन्छ । हिउँदे अधिवेशनको अन्त्य त्यसरी नै भएको देखियो । प्रमुख दलका प्रमुख सचेतकहरु मिलेर एक स्वरमा सरकारले संसदसँग गरेको यस किसिमको व्यवहारको प्रतिवाद गर्न सकिँदैन ?

-होइन, हामीले धेरे प्रसंगमा त गरेकै छौं । मेरो पार्टी सरकारमा गएको बेला पनि मैले आफ्ना मन्त्रीहरुलाई संसदमा बोलाउनेदेखि जवाफदेहिताका लागि कराइरहेको हुन्छु । मैले अघि नै भनें कि मेरो सर्वोच्च कमाण्डर भनेको सभामुख हो । मेरो दायित्व भनेको संसदप्रति हो । तर केही कुराहरु हामीभन्दा माथि जान्छन्, लगिन्छन् । सभाको सुरु र अन्त्य सभामुखले गर्ने भनेजस्तै संसदको सुरुवात र अन्त्य शीर्षस्थ नेताहरुले गर्ने गर्दछन् । हामीले एकातिर छलफल गरिरहेका हुन्छौं, उहाँहरुले मोडेर अन्यत्र लगिदिनुहुन्छ । यो खालको अभ्यासबाट हामी मुक्त नभएसम्म निर्णायक कुराहरु हाम्रो बसमा रहँदैन । प्रमुख सचेतकहरुका विचारहरु कार्य व्यवस्था समितिमा पनि समान हुन्छन् । सदन चलाउँदा पनि हामी सभामुखसँग बसेर सल्ला गरिरहेकै हुन्छौं ।

अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको सन्दर्भमा अडान लिइरहेको छ । सहकारी बचतकर्ताको बचत अपचलन भएको विषयमा तपाईंकै पार्टी सभापतिको नाम समेत जोडेर छानबिन हुनुपर्ने माग दोहोरिरहँदा राष्ट्रिय राजनीति नै खल्बलिरहेको छ । संसद नियमित पनि हुन सकिरहेको छैन । यो विषयलाई कसरी टुंग्याउन सकिएला ?

-मलाई चाँही यस विषयमा दुई/तीन वटा कुराहरु गोलमटोल तरिकाले आएजस्तो लाग्छ । हामी राजनीतिक पार्टीहरु कँही न कँही चुकेको अवस्थामा पुगिसकेका छौं । आफूलाई पर्दामात्र मुद्दाहरु उठाइने गरिन्छ । त्यसले कतिपय मुद्धाहरुको महत्व पनि नहुने अवस्था सिर्जना भएको छ । अहिलेको सन्दर्भमा सहकारीको पैसा अपचलन भयो भन्ने कुरा जगजाहेर छ । त्यत्तिका लागि मात्रै समिति बनाउनु जरुरी छैन ।

किनभने देशभरिकै सहकारीहरुमा बचतकर्ताको बचत अपचलन भयो । त्यसको मुख्य कारण सहकारी सिद्धान्तविपरित क्रियाकलाप गर्न थाले । व्यवस्थापकले बेइमानी गरे । राज्यले पनि उपयुक्त समयमा नियमन नगर्नुको परिणाम हो यो । प्रमुख प्रतिपक्षी दलले उठाएको कुरा सहकारीसँग मात्र सम्बन्धित छैन । यो राजनीतिक मुद्दाका रुपमा उठाईयो । यो राजनीति फेरि कस्तो छ भने सत्ता परिवर्तन भएको बेलामा सत्ता फेरबदलको आवेशबाट अगाडि आएको छ । जति छैन भनेपनि त्यो देखिन्छ ।

अर्को कुरा व्यक्ति केन्द्रित आवाज उठिरहँदा एउटा ठूलो पार्टीले हामीलाई कति ङ्याँकेको भन्ने गुनासो पनि छ । जति पनि अहिलेसम्म डकुमेन्ट र प्रतिवेदनहरु आए हाम्रो पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्रीलाई अभियोजन लगाइएको छैन । उहाँलाई कहीं कतै पनि प्रतिवादी बनाइएको छैन । त्यसो भनिरहँदा हामीले समग्र सहकारीको विषयमा सरकारले काम गर्नुपर्यो । मन्त्रीपरिषदमै मुद्दा पनि गएको छ । सहकारी भनेको आम मान्छेको हो । बैंक र सहकारी त आम मान्छेका लागि हो । मैले धेरै ठाउँमा यस विषयमा राज्य भाग्न पाउँदैन भनेको छु । अहिले उपप्रधानमन्त्री सहित सरकारले काम गरिरहेको छ भन्ने पनि आएको छ । एउटा व्यक्तिलाई मात्र टार्गेट गरेर विरोध गरिरहँदाखेरि हामी अचम्ममा परेका छौं ।

हामी त कस्तो ठाउँमा पुगेछौं भने नैतिकताको हवाला दिएर मान्छेले नगरेको कुरामा नैतिकता हालेर उत्तर दिन बाध्य गराइयो । यो पनि त राम्रो छैन भन्ने लाग्छ मलाई । कांग्रेस जस्तो प्रजातान्त्रिक परिवर्तनको अगुवा मानिएको पार्टी आउँदा दिनमा यसरी नै जान्छ जस्तो मलाई लाग्दैन ।

यही अल्झेर बसिरहनुभन्दा पार्टीका शीर्षस्थ नेताहरु बसेर निष्कर्षमा पुग्न सकिँदैन र ? यस्तो प्रयास गर्नुभएको छ कि छैन ?

-यही वैशाख २५ गते सभामुखले पाँच दलका शीर्षस्थ नेता र प्रमुख सचेतकहरुसँग छलफल गर्नुभयो यही बिषयमा । त्यहाँ विभिन्न कोणबाट छलफल भयो । तर कसरी अगाडि जाने भन्ने टुंगो लाग्न सकेन । कांग्रेसले आफ्नो अडान यथावत राखेको छ । सत्तारुढ दलहरुले पनि आफ्ना कुराहरु फरक फरक तरिकाले राखे । टुंग्याउन सकिएन । सुरु सुरुमा यस्ता कुराहरुमा आतिन्थ्यौं । तर अहिले त्यस्तौ छैन । भोलिदेखि सदन छ कँही न कँही टुंगिन्छ र हामी सहमतिमा अगाडि जान्छौं भन्ने विश्वास छ ।

Skip This
Logo