२४ वर्ष शिक्षिका बनेकी कान्तिकाको ‘कर्णालीको मुहार फेर्ने’ सपना

२४ वर्ष शिक्षिका बनेकी कान्तिकाको ‘कर्णालीको मुहार फेर्ने’ सपना

केन्द्रबिन्दु
42
Shares

जुम्लाकी कान्तिका सेजुवाल कांग्रेस केन्द्रीय सदस्यसँगै हाल प्रतिनिधि सभामा समानुपातिक सांसद छिन् । २०७१ सालसम्म जुम्लामै २४ वर्ष शिक्षण पेशा अंगालेकी उनले कर्णाली उच्च माविमा १४ वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहेर काम गरिन् ।

सेजुवाल २०७२ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा लागिन् । ०७४ को स्थानीय तह निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकाको पहिलो महिला मेयर बनेर एक कार्यकाल चलाइन् । उनी कांग्रेसको पन्ध्रौं महाधिवेशनमा जिल्ला सभापतिको पहिलो नम्बरको आकांक्षीका रुपमा आफूलाई प्रश्तुत गरिरहेकी छिन् । उनै सांसद सेजुवालले हामीसँग राजनीतिक यात्रा, व्यक्तिगत जीवन र समसामयिक राजनीतिबारे अनुभव सुनाएकी छिन् ।

रोचक पारीरिवारिक माहोल
खान्दानी राजनीतिक परिवारमा जम्मे हुर्केकी सेजुवालले विवाह पनि राजनीतिक परिवारभित्रै गरिन‍् । सेजुवालका पुस्ता (बाजे) मुगुको राराका हुन् तर बुवा बसाइँ सरेर जुम्लामै आएका थिए । बाजेको १२ भाई छोरा, उनको बुवाकै तीन जना आमा । बुबापट्टीका मात्रै आठ दाजुभाई र एक छोरी । उनी माइलाको पाँच सन्तानमध्येकी जेठी छोरी थिइन् । बुवा सरकारी जागिरे थिए । काकाबावुहरु पनि तत्कालिन समयमा प्रधानपञ्चदेखि, डाक्टरसम्म बनेका थिए । उनका कान्छो काका तत्कालिन समयमा कांग्रेस सभापति देउवा जिल्ला अध्यक्ष हुँदा सचिव थिए । उनको बाल्यकाल सामाजिक राजनीतिक परिवारमा सुखद बित्यो ।

विकासमा पिछडिएको, रोग, भोक र सामाजिक कुरीतिले जकडिएको तत्कालिन समाजमा उनलाई यि कुनै कुराले खासै असर गरेनन् सम्पन्न परिवारले उनलाई निडर र शसक्त हुन सिकायो । घरमा आमाले नै उनलाई कखरा सिकाइन् । एक कक्षा नपढी दुईमा भर्ना भएकी कान्तिका पढाइमा राम्रो थिइन् । परिवारको माहोल नै राजनीतिक थियो । उनमा त्यो चेत नआउने कुरै भएन । स्कूले जीवनमा(चार कक्षाबाटै) उनले विद्यार्थी संगठनहरुमा नजिकिन थालेको सुनाइन् । पछि महिला संघदेखि शिक्षक संघसम्ममा उनी आबद्ध भइन् ।

सुब्बाको जागिर छाडेर बुबाले स्कूल बनाएको प्रेरणाले उनलाई समयक्रम बित्दै जाँदा शिक्षिकासँगै जुम्लाको समाजसेवी बनायो । कान्तिका सेजुवाल जुम्लाका पूर्वसभापति मानव सेजुवालकी श्रीमती हुन् । मानव सेजुवालको २०७० सालमा विमान दुर्घटनामा निधन भएपछि उनी जुम्लाबाटै सक्रिय राजनीतिमा लागिन । खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्य जितेकी उनी हाल समानुपातिक सांसद छिन् ।

छोरा जन्मेपछि एसएलसी
५२ बसन्त पार गरेकी कान्तिकाका चार सन्तान छन् । उनले २०४४ बैशाखमा जुम्लाकै मानव सेजुवालसँग प्रेम विवाह गरिन । घर र माइतीको दूरी टाढा पनि थिएन । स्कूल पढ्दै गर्दा विवाह गरेकी उनले आफ्नो पढाइलाई बिहेपछि पनि निरन्तरता दिने अवसर पाइन । दुई विषयमा उनले स्नाकोत्तरसम्मको पढाइ गरिन तर, एउटा विषयमा भने उनले प्रयोगात्मक तर्फको थेसिस पूरा अझै गरेकी छैनन् । बहुदल ल्याउने आन्दोलनताका काठमाडौंको केन्द्र बानेश्वर र माइतीघरदेखि कर्णालीको दूर दराजसम्म आन्दोलनको राप पुगेको थियो । तत्कालिन समयमा आमा, बुहारी, शिक्षिकाको भूमिका निभाएर कान्तिका जुम्लामा हुने मुख्यमुख्य आन्दोलन र जुलुसमा सहभागी हुन्थिन। उनका स्वर्गीय पति मानव काठमाडौंमा विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

‘मैले एसएलसी पास पछि गरेँ । तर, छोरो अगाडि नै जन्मिएको थियो । ०४७/०४८ को आन्दोलनमा म बच्चा बोकेर जान्थें । बहुदल आउनु अगाडि भएको जुम्लामा नेपालकै सबैभन्दा लामो आन्दोलनको जुलुसमा पनि सहभागी बने । मेरो श्रीमान अमृत साइन्स क्याम्पस, अस्कलमा विएस्सी पढ्दै आन्दोलनमा सहभागी बन्नुहुन्थ्यो । म जुम्लामै थिए’ सेजुवालले स्मरण गरिन् ।

यति मात्र होइन उनी ५१ सालको शुरुवाती चरणमै संस्थामार्फत समाजमा पछाडि परेका महिलालाई आर्थिक रुपमा सक्रिय गराउन सरिक भइन् । गरिब, अशिक्षित, पछाडि परेका, हिंसा र घरेलु हिंसामा परेका महिलालाई सचेत गराउँदै उनले कर्णालीको समाजमा व्याप्त छाउपडी ,दाइजो प्रथालगायतका विविध समस्याविरुद्ध परिवर्तनको लागि आवाज उठाइन् । अझै पनि संस्थामार्फत सामाजिक परिवर्तनका लागि कार्य गरिरहेको धारणा उनको छ ।

‘स्कूलको समयपछि बिहान बेलुकाको समयमा महिलालाई आयआर्जनका कार्यक्रम, अनौपचारिक शिक्षा दिने, सरसफाईका कार्यक्रम संस्था दर्ता गरेरै हामीले शुरु गरेका थियौं ।’

तत्कालिन समयमा चाहना हुँदाहुँदै पनि शसस्त्र द्वन्द्वका कारण धेरै काम गर्न नसकेको उल्लेख गरेकी उनले त्यतिबेलाको आफ्नो उर्जाशिल समय त्यसै वितेकोमा पछुतो लाग्ने गरेको सुनाइन् । ‘हामी बजारमा बस्थ्यौं । शसस्त्र द्वन्द्वको बेला हामी सरकार र अर्को दुवै पक्षको बीचमा परेका थियौं । त्यसले गर्दा पनि त्यो समय मैंले केही गर्न नसकेर त्यत्तिकै महत्वपूर्ण समय बितेर गयो भन्ने अहिले पनि पछुतो लाग्छ ।’

सांसद बन्दा पनि खुशी छैन
राजनीतिक पारिवारिक वातावरणमा जन्मे हुर्केकी सेजुवालल विद्यार्थी जीवनबाटै राजनीतिक गतिविधिमा सामेल भइन् । विवाहपछि भने पारिवारसँगै आफ्नो पढाइलाई निरन्तरता दिने क्रममा राजनीति उनको जीवनको कहीं न कहीं नजिक थियो ।
एसएलसी सकेर जुम्लामै विद्यालय शिक्षिका बनेकी उनी लामो समय शिक्षण पेशामा रमाइन् । तर,आफूले शिक्षण पेशाबाट राजीनामा नगर्दासम्म राजनीति नगरेको तर्क उनी गर्छिन‍् ।

७० सालमा श्रीमानको निधन भएपछि परिस्थितिले उनलाई शिक्षण पेशा छोडेर राजनीतिमा आउन अवसर दिलायो । आज ११ वर्षको राजनीतिक करिअरमा उनी सफल नेतृ मानिन्छिन तर सफलताले खुशी नदिएकोमा उनलाई पछुतो छ ।
‘म स्थानीय तहमा मेयर हुँदै अहिल सांसद भएकी छु, यो ठाउँमा हुनु सुखद हो । अहिले सांसद छु, पहिला मेयर थिए । तर हर्षित थिइन । किनभने श्रीमानको चोट मनमा छ । जुम्लेली जनताको लागि आँशु पुछेर उनीहरुलाई खुशी दिने चाहना मेरो हो । मेरो ठाउँमा श्रीमान भएको भए खुशी हुन्थे ।’

कांग्रेसको १५औं महाधिवेशमा जुम्लाबाट उनी जिल्ला सभापतिको आकांक्षी पनि हुन् । उनले कांग्रेस सभापति पक्षधरको साथ निरन्तर पाउँदै आएकी छन् । पन्ध्रौं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार तपाईंँ नै त होलानि भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘अब समयले बताउला । मेरो पहिले नै प्लान गर्ने बानी छैन, त्यतिबेलासम्म वातावरण कस्तो हुन्छ परिस्थिति हेरेर निर्णय गर्छु ।’

सामाजिक नीतिले बाँधेर जुम्लेली महिला पछि परे
पञ्चायत कालमा कान्तिकाले चाहे जसरी नै पढ्न पाइन । त्यसैगरी उनका अन्य आवश्यकतालाई परिवारले पूरा गरिदिएको थियो । तर, त्यही समाजमा आफू समान उमेरका महिला सामाजिक कुरीति, गरिबीका शिकार हुन्थे । जुम्लाका महिला सबैलाई पढ्ने कहाँ नशिवमा थियो र ! महिला भनेका घरका काम गर्ने हुन, छोरीले पढ्न पर्दैन भन्ने सामाजिक मानसिकता ब्याप्त थियो ।

जुम्लाका छोरीहरुलाई पढ्न निकै कष्ठ थियो त्यो समयमा । तर, ०४४ सालमा प्रेम विवाह गरेकी कान्तिकाले त्यहि वर्ष बिहेपछि कक्षा १० मा पढ्न थालिन । त्यसपछि त समाजमा आफैं केही गर्नुपर्छ भन्ने महिलाको लागि हौसला बढाउने पात्र बन्न थालिन उनी । बिहेपछि पढ्नु ÷पढाउनु हुँदैन भन्ने प्रचलित मान्यतामा उनले स्कुले पोशाक लगाएर स्कूल जान थालेपछि परिवर्तन आएको थियो । त्यतिबेला देशको कानून भन्दा माथि सामाजिक नीति भएको भोगाइ उनको छ । ‘त्यतिबेला सामाजिक नीतिले बाँधेको थियो । देशको मुलूकी ऐनले होइन सामाजिक संरचनाले महिलालाई बाँधेको थियो । विहे गरेपछि तिमीले (महिलाले) यो लुगा लगाउन पाउँदैनौ, स्कूल पढ्न पाउँदैनौ भन्ने नीतिलाई मैंले चिरें । विहे गरेको साल नै फागुनबाट मैंले स्कट लगाएर स्कूल गए ।’ उनले मुस्कुराउँदै थपिन, ‘जुम्ला जिल्लामा सबैभन्दा पहिला मैंले विवाह पश्चात पढ्न जाने कुराको शुरुवात गरेको हो । त्यसपछि विहेपछि पढ्न जाँदा केही नहुने रहेछ भन्दै अरु महिला पनि स्कूल जान थाले, समाजमा पनि परिवारका सदस्यले बुहारी, श्रीमती ,भाउजुलाई पढ्न पठाए ।’

तत्कालिन समयमा समय परिवेशले महिलाका लागि अनुदार बनेको जुम्लाको समय यतिबेला फराकिलो सोच राख्ने भैसकेको छ । तर, पूर्वाधार विकाससँगै पहिले भन्दा धेरै कुरामा सहजता बन्दै गएपनि त्यो पर्याप्त नभएको धारणा सेजुवालको छ । बाटो अझै आवश्यक ठाउँमा पुग्न सकेका छैनन । विद्युत, सञ्चारसँगै स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि जुम्लेली नागरिकले विकास चाहेका छन् ।

‘हिमाल–पहाड कोतरेर भएपनि गरिखानका लागि जुम्लेली नागरिक अरुको भर पर्दैनन् । तर, उहाँहरुको राज्यबाट आशा भनेको राज्यले भौतिक पूर्वाधारमा (सडक,पुल) विकास पहिलो नम्बरको आवश्यकता हो । विजुी, स्वास्थ्य, शिक्षा र कृषिमा आधुनिकीकरण गर्नु आवश्यक छ । यति भयो भने यस्तो मिलेको भूगोल छ रैथानले बालीलाई उत्पादन र प्रर्बद्धन गर्न सकिन्छ । त्यसका लागि नीति बनाउनु आवश्यक छ ।’

उनले हिमाली जिल्लामा फल्ने रैथाने बाली उत्पादन र प्रबद्र्धन गर्नुपर्नेमा प्रभावकारी नीति तथा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो औंल्याइन् ।

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ
सांसद सेजुवाल जिल्लाको विकासका लागि संघीय सरकारले प्राथमिकता दिएर हिमाली जिल्लामा बजेट पठाउनुपर्ने बताउँछिन । पहाडको काठमाडौं र तराईको स्थानीय सरकार सञ्चालन गर्न जस्तो हिमाली जिल्लाका स्थानीय सरकारलाई सहज नहुने तर्क उनको छ ।

विकट ठाउँमा स्थानीय सरकारका आम्दानीको स्रोत निकै कम हुने भएकाले सरकार सञ्चालनमै बजेट खर्च हुने र विकासले गति पाउन नसक्ने समस्याको अन्त्य गर्न बजेट बिनियोजन गर्दा उच्च प्राथमिकतामा राखेर व्यवहारिक कार्यान्वयन हुने र प्रतिफल दिन सकिने गरी अब बजेट जानुपर्नेमा उनको जोड छ ।

योजना आयोग खारेज होस्
‘काठमाडौं महानगरपालिका नेपाल सरकारभन्दा धनी छ । तर, हिमाली र पहाडी जिल्लाहरुमा सबै ठाउँमा राम्रो आयस्रोत हुँदैन । आयस्रोत नै राम्रो नभएपछि वितरण के गर्ने ? संघीय अर्थमन्त्रालयले खटाएको, वित्त आयोग र राष्ट्रिय योजना आयोगले सिफारिस गरेको आठ दश करोड बजेटले केही हुँदैन,’ उनले भनिन् ।

उनले आफूले स्थानीय सरकार सञ्चालन गर्दा सरकारले पठाएको १२ करोड बजेट मध्ये ८ करोड कर्मचारीलाई दिनुपर्ने र बाँकी दुई करोड रुपैयाँले विकास निर्माणमा खर्च पुर्याउनुपर्ने अवस्था स्मरण गरिन । विशेषगरी हिमाली जिल्लाहरुमा स्रोत साधनको आभावमा स्थानीय सरकारले काम गर्न नसक्ने धारणा उनको छ ।

‘स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा जुन योजनाहरु बनाएको हुन्छ त्यो बजेट आएपछि कार्यान्वयनमा जान गाह्रो हुन्छ । किनभने सबै ठाउँमा भ्वाङहरु हुन्छन । त्यो प्वाल पुर्दैमा बजेट सकिन्छ । यस्तोमा संघले पठाएको बजेटले त सानातिना आयोजनामा पनि पुग्दैन । स्थानीय निकायले ठूलो गौरवको आयोजना सञ्चालन गर्नेे सम्भावना छैन । यो संघीयतको मर्म पनि होइन,’ सेजुवालले भनिन् ।

स्थानीय सरकारलाई आम्दानी र स्रोतका आधारमा संघले बजेट दिनुपर्नेमा जोड दिएकी उनले राष्ट्रिय योजना आयोगले बनाएका योजना सफल नभएकोमा आक्रोश मात्रै पोखिनन् आयोगकै औचित्य नभएको तर्क गरिन् ।

‘राष्ट्रिय योजना आयोग किन राख्ने? खारेज गरिदिए हुन्छ । आयोगले प्लान गरेअनुसार नेपाल चल्दैन अब, के देश आयोगको प्लानिङ अनुसार चलेको छ ? त्यतिका मान्छे राखेर सरकारले तलब खुवाएर किन राख्नुपर्यो ? त्यहाँ माननीय भए भनेर विभिन्न पार्टीका मानिसहरु जाने मात्र हुन् खारेज गरिदिए हुन्छ आयोग ।’

उनले देश अहिले बिरामी अवस्थामा रहेको उल्लेख गरिन् । राष्ट्रिय राजनीतिका सबै धारहरु विकासका मामलामा एक ठाउँमा उभिएर देशलाई निकास दिने गरी नसोचेसम्म देशको स्थितिमा सुधार नहुने धारणा उनको छ ।

उनले आश्चर्य प्रकट गर्दै भनिन्, ‘सबै राष्ट्रिय राजनीतिका धारहरु एक ठाउँमा आएर देशलाई निकास दिनुपर्छ । जबसम्म त्यो सेचेर एजेण्डामा जाँदैनौ, देशको अवस्था गाह्रो छ । कसरी देश चलिराखेको छ शून्य अवस्थामा छ जस्तो लाग्छ भन्ने लाग्छ बाहिर हेर्दाखेरी ।’

निर्वाचन प्रणाली परिवर्तन गरौं
सांसद सेजुवालले दलमा महिलाको नेतृत्व लेबलमा शसक्त उपस्थिति गराउन निर्वाचन प्रणाली नै बाधक भएको दाबी गरिन । उनले राजनीतिक दलले महिलालाई पनि पुरुष सरह विश्वास गरेर सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिइन् । दलले कतिपय ठाउँमा चुनाव हार्ने देखेपछि महिलालाई उठाउने,त्यसमाथि पनि पुरुषको तुलनामा समान अवसर नै नदिने परम्परालाई छाडेर महिला महिलाबिच, दलित दलितबिचमै पनि कडा प्रतिस्पर्धा गराउन सक्नुपर्ने धारणा राखिन् ।

‘महिलालाई राजनीतिक नेतृत्वमा पुग्न इच्क्षाशक्तिसँगै उसँग क्षमता हुनुपर्यो र दलले पनि पत्याउनुपर्यो । जनताले पनि पत्याउनुपर्छ । अर्को मुख्य भनेको पार्टीले पनि महिला र पुरुषलाई विश्वास गरेर सँगै अगाडि बढाउनुपर्छ । तर निर्वाचन प्रणाली अब परिवर्तन हुनै पर्छ ।’ उनले थपिन, ‘प्रणाली चेन्ज गरौं पार्टीभित्रै पनि महिला महिलाबिच लडाऔं, दलित दलितबिच लडाऔं, जनजाति जनजातिचि प्रतिस्पर्धा गराऔं न । बाहिर पनि प्रधानमन्त्री लड्ने ठाउँमा महिलालाई लडाउने ? सभापति लड्ने ठाउँमा महिलालाई लडाइदिने हो भने जित्ने सम्भावना हुन्छ ? एउटा पार्टीको सभापति लड्ने ठाउँमा अर्को पार्टीको पनि उही ओजको व्यक्ति हुनुपर्यो नि । कि हार्ने ठाउँमा, कि ओझेलमा परेको ठाउँमा मात्र महिलालाई पठाउने चलन र निर्वाचन प्रणाली दुवै रद्द गर्नुपर्छ ।’

उनले महिलालाई दलले प्राथमिकता दिएका छन् भनेर पहिलेका महिला राष्ट्रपति, प्रधानन्यायाधीश, शभामुखको उदाहरण हेरेर चित्त बुझाएर बस्ने काम बन्द गर्नुपर्ने बताइन । वडाबाटै महिलालाई शसक्त बनाएर ल्याउनुपर्ने तर्क उनको छ ।
‘हिजोका दिनमा हामीले प्रधानन्यायाधीश, महिला राष्ट्रपति, सभामुख पायौं भनेर गर्व गर्छौ, ति तीनजना मात्रै भएर के हुन्छ ? केही हुँदैन । त्यस्ता तीन लाख महिला वडा तहबाटै सशक्त राजनीतिमा क्रियाशील हुनुपर्छ अब । वडा तहमै पचास प्रतिशत महिलाले नेतृत्व पाउनुपर्छ , तलैबाट जग राम्रो बसाल्नुपर्छ दलहरुले । पचास प्रतिशत सबै दलले महिलालाई लडाउन सक्नुपर्छ तब कार्यकारी तहमा सक्षम महिला आउँछन् । जहिले पनि गर्न सक्दैनन् भन्यो महिलालाई महिला तथा बालबालिका मन्त्रालय नै दिने !’ उनले थपिन, ‘अझै पनि दलले महिलालाई दलले मात्रै होइन पुरुष,समाज कसैले पनि पत्याएकै छैनन् । यो मानसिकता चिर्नु पर्छ । ’

संसद र समितिमा निर्णय गरेर मात्र हुँदैन
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य समेत रहेकी सेजुवाल समितिमा स्टेक होल्डर, मन्त्री, सरोकारवाला निकायसँग छलफल गरेर मात्र समसामयिक विषयका समस्या हल नहुने बताउँछिन । संसदीय समितिले फिल्डमा निरीक्षण गरेर सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नेदेखि समितिले दिएको निर्देशन पालना गर्न सरकारको अटेर गर्ने प्रवृतिले कुनै पनि समस्याको निकास नदिने भन्दै उनले कार्यान्वयनको पक्ष प्रभावकारी बनाउनुपर्ने बताइन । सोही कुरा सदनमा पनि लागू हुनुपर्नेमा उनको जोड छ ।

संसद र सदनलाई प्रभावकारी बनाउन सरकारले नै तदारुकता दिनुपर्ने उनको धारणा छ । प्रधानमन्त्री दाहालले रुग्ण अवस्थामा रहेका देशभरका सञ्चालन गर्न सकिने उद्योग सञ्चालन गर्ने भनेर गरेको प्रतिबद्धता कार्यान्वयन गरेर देखाउन उनले आग्रह गरिन् ।

‘प्रधानमन्त्रीले धेरैचोटी रुग्ण भएका उद्योगहरु सञ्चालन गर्ने भनेर भन्नुभयो । गफ गरेर हुँदैन काम गर्नुपर्छ । नेपालका जति पनि बन्द अवस्थामा रहेका उद्योगहरु छन् ति मध्ये केहीको समितिले स्थलगत अध्ययन अनुगमन गर्यौं । त्यहाँ धेरै समस्याहरु रहेछन् । कसैले बैंकको ऋण र ब्याज तिर्न नसकेको, कुनैमा आर्थिक अभावका कारण बन्द भएको,कुनैमा सरकारले सहयोग नगरेको अवस्था पाइयो । देशमा रुग्ण भएका उद्योगहरु जवसम्म राम्रोसँग सञ्चालन गर्न सकिँदैन तबसम्म रोजगारीका अवसर सिर्जना हुँदैन । त्यसका लागि सरकार र सबै एकजुट भएर रुग्ण भएका र चलिरहेका उद्योगहरुमा जुन समस्या र अप्ठ्याराहरु आएका छन् त्यो सुल्झाउनु पर्छ ।’

जेठ १ सभामुखले अव्हान गरेको संयुक्त बैठकमा पनि कांग्रेस गृहमन्त्रीको एजेण्डामा अडिग रहने बताएकी उनले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन सरकार सँगै कर्मचारीतन्त्रमा सुधारको आवश्यकता औंल्याइन् ।

Skip This
Logo