जलविद्युतमा वैकल्पिक ऊर्जा मिश्रित अवधारणा आवश्यक छ -मन्त्री बस्नेत

जलविद्युतमा वैकल्पिक ऊर्जा मिश्रित अवधारणा आवश्यक छ -मन्त्री बस्नेत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सुक्खायाममा विद्युत आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि ऊर्जा मिश्रणको अवधारणामा जानुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा उठेका प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले वर्षायाम विद्युत उत्पादन धेरै हुने र सुक्खायाममा कम हुने भएकाले जलविद्युतबाहेकका स्रोतमा लगानी बढाएर ऊर्जा मिश्रणको अवधारणा लागू गर्नु नै पर्ने बताए ।

उनले भने, ‘सुक्खायाममा आजको दिनमा पनि हामी आयात गर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्नको लागि हामीले इनर्जी मिक्सको अवधारणामा जानैपर्ने हुन्छ । त्यो भनेको जलविद्युत मात्रले पुग्ने भएन, त्यसमा जलविद्युतको साथै सोलार पावर, विन्ड पावरलगायत सबै अन्य ऊर्जाको पनि प्रयोगबाट यो ऊर्जा मिश्रणको अवधारणाबाट गएर नै हाम्रो वर्षायाम र सुक्खायामको ग्याप फिल गर्नको लागि केही हदसम्म सक्छौ भने हाम्रो विश्वास हो । त्यस अर्थमा पनि सोलारको क्षेत्रमा काम गर्न जरुरी छ ।’

उनले आगामी आर्थिक वर्ष विद्युत आयातभन्दा निर्यात बढी गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् । स्वच्छ ऊर्जाको महत्व आवश्यकताको सन्दर्भमा विश्वव्यापी विभिन्न फोरमहरुमा हुने छलफलमा अथवा जलवायु कूटनीतिको विषय पनि महत्वका साथ नै अगाडि आइरहेको उनले बताए

मुलुकमा अधिकांश आयोजना नदीको बहावमा आधारित रहने भएकाले पानी घट्दा ऊर्जा उत्पादन घट्छ । आन्तरिक माग नै धान्न पर्याप्त नभइरहेको सन्दर्भमा सौर्य र वायु ऊर्जाका विकल्पमा पनि ध्यान दिनुपर्ने उनले औंल्याए । जलविद्युत आयोजनाका उत्पादनमा वैकल्पिक ऊर्जाको मिश्रण हुन सके आन्तरिक माग धान्नुका साथै निर्यात पनि सहजीकरण हुने उनले बताए ।

Logo