कामु लीलादेवी गड्तौलालाई नै मुख्य सचिव बनाउन सांसदको आग्रह

कामु लीलादेवी गड्तौलालाई नै मुख्य सचिव बनाउन सांसदको आग्रह

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य रञ्जु कुमारी झाले कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै मुख्यसचिव पदमा नियुक्त गर्न आग्रह गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोलेकी सांसद झाले अब महिलालाई देशको ब्युरोक्रेसीको उच्च पदमा लाने समय आएको बताइन्। उनले सरकारसँग गड्तौलालाई नै मुख्यसचिव बनाउन आग्रह गरेकी हुन्।

‘महिला आन्दोलनको उपलब्धिको रुपमा राष्ट्रपतिको रुपमा महिलालाई देख्यौँ, सभामुखको रुपमा महिलालाई देख्यौँ, प्रधानन्यायाधीशको रुपमा महिलालाई देख्यौँ अब पालो छ मुख्य सचिवको।’ उनले थप भनिन्, ‘ब्युरोक्रेसीको हेडको रुपमा जुन कामु महिला जानुभएको छ, उहाँलाई नै मुख्यसचिव बनाउन म सरकारलाई आग्रह गर्छु।’

उनले महिला मुख्य सचिव नियुक्त भए निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याल जस्तो भ्रष्टाचार प्रकरणमा उनी नफस्ने विश्वाससमेत व्यक्त गरिन।

आइतबार विशेष अदालतमा अख्तियारले मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सरकारले सोमबार कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै जिम्मेवारी दिएको थियो।

यस्तै, निलम्बित अर्याललाई भने राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी सरकारले सरुवा गर्ने निणर्य गरेको थियो।

Logo